काठमाडौं– भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीन महिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थलको काम करिब ९५ प्रतिशत भौतिक प्रगति छ ।

प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनाको हाल प्राविधिक कार्य चलिरहेको छ । विमानस्थलमा नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको छ । सँगसँगै विदेशी दक्ष प्राविधिक जनशक्ति धमाधम आइरहेकाले प्राविधिक काम छिट्टै सक्ने गरी व्यवस्थापन गरिएको छ ।

विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण शतप्रतिशत आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । ‘९८ प्रतिशतभन्दा बढी उपकरण आइसकेको छ । विदेशबाट ल्याइने लक्ष्य जनशक्ति पनि छिट्टै आउँदैछन् । अहिले नेपाली प्राविधिकले पनि काम गरिरहेका छन् । त्यसैले बाँकी प्राविधिक काम सक्न तीन महिना पनि लाग्दैन,’ उनले भने ।

उनका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन् एक–दुई दिनभित्रै अमेरिकाबाट थप दुईजना विज्ञ प्राविधिक आउँदैछन् । त्यस्तै भारतबाट झण्डै १५ जना प्राविधिक जनशक्ति आउनेछन् । चीनबाट ६ जना प्राविधिक नेपाल आउने प्रक्रियामा छन् । उनीहरु सबै आइसकेपछि उपकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिनेछ ।

कोभिड–१९ महामारी नभइदिएको भए सो विमानस्थल यतिखेर सञ्चालन भइसक्थ्यो । कोरोना महामारीकै बीच निर्माण भने चलिरह्यो । विदेशबाट जनशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मापदण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्न गर्न केही ढिलाइ भएको हो । महामारीका कारण विमानस्थल अंग्रेजी वर्ष सन् २०२१ को सुरुबाट सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को योजना थियो । प्राविधिक काम पूरा नभएका कारण विमानस्थल सञ्चालनमा केही ढिला हुन गएको क्यानले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा सुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्य रुपमा प्रगति भएको थियो ।

आयोजना प्रमुख अधिकारीको भनाइमा अहिले विमानस्थलको सौन्दर्यकरणका लागि साजसजावट तथा रङरोगनको काम भइरहेको छ । प्राविधिक काम पनि भइरहेको छ । विमानस्थलको टर्मिनल भवनमा उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्सट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालन योग्य भएको छ महिना अगाडि नै अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले तीन महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन झण्डै ६ महिनाको अवधि लाग्नेछ ।

पछिल्लोपटक सन् २०२० को मार्चसम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको योजना छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय