काठमाडौं– संयुक्त अरब एमिरेट् (युएई)को कम्पनी अल अहलिया एक्सचेन्ज र नेपालको आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पिटुपी मनी ट्रान्सफरको लागि समझदारी भएको छ । समझदारीपछि आइएमईमार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्ने बताइएको छ । यो सम्झौतापछि अल अहलिया एक्सचेन्ज नेपालको आइएमई पेमा सिधै पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ ।

यो समझदारी डिजिटल ट्रान्सफर्मेसनमा दुवै कम्पनीका लागि अर्को महत्त्वपूर्ण फड्को भएको कम्पनीले जनाएको छ । यसबाट युएईमा रहेका आफ्ना सेवाग्राहीलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान गरेको छ । यसले सेवाग्राहीलाई अल अहलिया एक्सचेन्ज युएईबाट पठाएको रेमिट्यान्स नेपालस्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने नयाँ सुविधा प्रदान गरेको छ ।

रोजगारीका वा व्यापार व्यवसायका लागि युएईमा रहेका लाखौं नेपालीले अल अहलिया एक्सचेन्जबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने गरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफूलाई निक्कै खुसी लागेको अल अहलिया एक्सचेन्जका निमित्त महाप्रबन्धक कमल सुब्बाले बताए ।

आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्रापकको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने निमित्त महाप्रबन्धक सुब्बाले बताए । आइएमई पे ब्रान्डको प्रवर्द्धित संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोभिड–१९ महामारीको समयमा सेवाग्राहीले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको बताए । युएई नेपाल भित्रिने रेमिट्यान्सको मुख्य स्रोत भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा युएईको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे ।

वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिट्यान्समा दक्षिण एसियाकै ठूलो बजार मानिन्छ । अल अहलिया एक्सचेन्जका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई सहजता थप्ने विश्वास गरिएको छ । सेवा शुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्सचेन्ज युएईमार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकारोबार ६० रुपैयाँसम्म बोनस पाउन सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय