सिन्धुपाल्चोक– राजधानीबासीले लामो समयदेखि प्रतीक्षा गरेको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण थालिएको छ ।खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार सुरुङमा मेलम्ची खोलाको पानी प्रवेश गराएर परीक्षण सुरु गरेका छन् ।

यसअघि असारमै सुरुङमा पानी हालेर परीक्षण सुरु गरिएकोमा दुर्घटना भएपछि रोकिएको थियो । परीक्षणका क्रममा रहेका सुरुङको ढोका एक्कासि खुल्दा त्यहाँबाट निस्केको पानीले आयोजनाका चारजना कर्मचारी बगाएकोमा दुई जनाको ज्यान गएको थियो ।

मन्त्री थापाले मुहानस्थल अम्बाथानस्थित कन्ट्रोल कक्षको स्विच थिचेर सुरुङमा पानी प्रवेश गराएका हुन् ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले साढे दुई महिनामा सुरुङ परीक्षण सम्पन्न हुने बताए । उनका अनुसार अबको १५–१६ दिनमा मेलम्ची पानी सुन्दरीजल पुग्छ । परीक्षण पूरा गरेर आगामी चैत अन्तिम वा वैशाख पहिलो साता मेलम्ची पानी उपत्यकावासीको घर–घरमा वितरण गर्ने आयोजनाको तयारी रहेको उनले जानकारी दिए ।

खत्रीका अनुसार सुरुङसँगै, सुन्दरीजलमा रहेका प्रशोधन केन्द्र र वितरण पाइप लाइनसमेत परीक्षण गरिनेछ । सुरुङ भरिन १५–१६ दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन सुरुङभित्रै होल्ड गरेर फेरि दुई साता लगाएर खालि गराउनुपर्छ । सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी संकलन भएपछि एकसाथ पाइपलाइन परीक्षण र वितरणको काम सुरु हुने खत्रीले जानकारी दिए ।

मेलम्चीबाट सुन्दरीजल पुग्ने पानी संकलन गर्न प्रशोधन केन्द्र तयार भइसकेको छ । त्यहाँ साढे आठ करोड लिटर क्षमताका दुईवटा प्रशोधन केन्द्र छन् ।

मेलम्ची सुरुङ दैनिक ५१ करोड लिटर पानी लैजान सकिने गरी बनाइएको छ । पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड लिटर पानी उपत्यका पुग्नेछ ।

पछि लार्के र यांग्री खोलाको पानीसमेत मिसाएर ५१ करोड लिटर पानी उपत्यका लैजाने आयोजनाको तयारी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय