काठमाडौं– सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान ५४ वर्षमा प्रवेश गरेको छ । संस्थान ५४औं वर्ष प्रवेश गरेको अवसरमा मंगलबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रतिस्पर्धी बजारमा अगाडि बढ्न आग्रह गरे ।

मुलुकको बिमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह, अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै समयानुकूल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न उनले आग्रह गरे । ‘पारदर्शिता र सुशासनको माध्यमबाट सर्वसाधारणमा संस्थानप्रतिको विश्वसनीयता बढाउँदै छिटो छरितो, गुणस्तरीय र प्रविधिमैत्री सेवामार्फत आफ्नो प्रतिष्ठा बढाउनुस्,’ सिलवालले भने ।

जीवन बिमा सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पुर्याई बिमाको पहँुच र दायरा बढाउँदै संस्थागत सुशासन र वित्तीय पारदर्शितालाई केन्द्रमा राखी गतिविधि अघि बढाउन उनले सुझाए ।

समिति नियामक निकाय भए तापनि नियन्त्रणमा मात्रै विश्वास नगर्ने भन्दै उनले थपे, ‘समितिले बिमा बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ, यसलाई कसरी नियमित गर्न सकिन्छ । यसलाई कसरी पारदर्शी गर्न सकिन्छ र यसलाई कसरी नियन्त्रणमा राख्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले प्रतिस्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थाललाई आग्रह गरे ।

व्यवसायिक क्षेत्रमा हने जोखिम न्यूनीकरण गर्दै सुरक्षित व्यवसाय सुनिश्चित गर्न बिमा क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी मुलुकले परिलक्षित गरेको समावेशी आर्थिक विकास मार्फत आर्थिक समृद्घि हासिल गर्न बिमा व्यवसाय ठोस आधार स्तम्भ हुने बताए ।

शिवाकोटीले नेपालको ग्रामीण क्षेत्रमा बिमाको पहुँच अत्यन्त न्यून रहेको सन्दर्भमा संस्थानले बिमाको पहुँच विस्तारमार्फत उद्योग, व्यवसायको विकास र विस्तारमा अझ थप योगदान पुर्याउनुपर्ने आवश्यकता औंल्याए ।

अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले विगतका तुलनमा बिमाको पहुँच वृद्घि भए पनि अझै विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । मुलुकको जेठो बिमा कम्पनीको रुपमा रहेको संस्थानको बजार हिस्सा पनि जेठो नै हुनुपर्नेमा उनको जोड थियो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले राष्ट्रको समुचित आर्थिक वृद्घिका लागि अन्तरिक स्रोत र साधनलाई परिचालन गर्दै वित्तीय क्षेत्रको विकास गर्ने तथा बिमितको जीवनमा आइपर्ने जोखिम न्यूनीकरण गरेर सुखी र समृद्घ समाजको परिकल्पनामा आजभन्दा ५३ वर्ष अगाडि सरकारको पूर्ण स्वामित्वमा संस्थानको स्थापना भएको बताए ।

कर्मचारीहरुको सावधिक जीवन बिमा गर्ने सम्झौताका कारणले संस्थानको अवस्था मजबुत बनेर बिमा प्रिमियम ह्वात्तै बढेको उनले बताए । गत वर्ष वार्षिकोत्सवकै दिन सार्वजनिक गरिएको आवधिक जीवन बिमा (टर्म लाइफ इन्स्योरेन्स) लाई सरकारी संस्थान, स्थानीय निकाय, बैंक, सहकारी संस्थाहरुमा यो प्रडक्ट लगेर सामूहिक बिमा विस्तार गरी प्रिमियम बढाइने लक्ष्य राखिएको उनले बताए ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले चालु अर्थिक वर्षको पुस मसान्तसम्ममा नेपालमा सञ्चालित जीवन बिमा सेवा प्रदायकले संकलित बिमा शुल्क ६६ अर्ब १६ करोडमध्ये संस्थानले पाँच अर्ब ६८ करोड संकलन गरी बिमा शुल्क संकलनमा संस्थानको बजार हिस्सा ८.५९ प्रतिशत रहेको जानकारी दिए ।

जीवन बिमा व्यवसायमा जीवन बिमा कोषको आधारमा चौथो र बिमाशुल्क संकलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको उनले बताए । सो अवधिमा कुल बिमालेख संख्या ९१ लाख ५१ हजार ६८७ रहेकोमा संस्थान सात लाख ३५ हजार ८१९ बिमालेख सहित पाँचौं स्थानमा रहेको प्रशासक पाठकले बताए । नेपाली बिमा बजारमा आफ्नो हिस्सा क्रमशः बढाउँदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाइ छ ।

सेयर पुँजी, जीवन बिमा व्यवसायबाट प्राप्त बिमाशुल्क र जीवन बिमाकोषको लगानीबाट प्राप्त प्रतिफल आदि संस्थानका प्रमुख वित्तीय स्रोत भएको बताउँदै उनले उपलब्ध वित्तीय स्रोतलाई नियामक निकायबाट प्राप्त नीति, नियम र निर्देशन बमोजिम सुरक्षित र उच्च प्रतिफल प्राप्त हुने गरी लगानी व्यवस्थित गरिएको बताए ।

संस्थानले जारी गरेका बिमालेहरुले आफ्नो धारण क्षमताभन्दा बढी रकमको पुनर्बिमा अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीबाट गर्दै आएकोमा देशभित्रै स्थापित नेपाल पुनर्बिमा कम्पनीसँग शतप्रतिशत पुनबिर्मा गर्ने व्यवस्था गरी पुनर्बिमा शुल्कको नाममा रकम बिदेसिने कार्यलाई निरुत्साहित गरिएको उनको भनाई छ ।

संस्थानको लेखापरीक्षण र साधारणसभा निकै लामो समयदेखि हुन नसकेको विषयमा प्रस्टीकरण दिँदै उनले भने, ‘यो नै संस्थानको मुख्य समस्या हो । जीवन बिमामा बिमांकीय मूल्यांकन नभई लेखापरीक्षण कार्य सम्पन्न नहुने हुँदा संस्थानको साधारणसभा समेत समयमा सम्पन्न हुन सकेको छैन । विगतका समयमा बिमांकीय मूल्यांकन हुन नसक्दा यस्तो अवस्था आउन गएको हो ।’

संस्थानको नयाँ प्रडक्ट आवधिक जीवन बिमा (टर्म लाइफ इन्स्योरेन्स) सार्वजनिक गरिएको सो कार्यक्रममा संस्थानमा उत्कृष्ट काम गर्ने अभिकर्ता, कर्मचारी र शाखालाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय