काठमाडौं– संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आह्वानमा हजारौं शिक्षक र विद्यालय कर्मचारीले काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मंगलबार दिउँसो ३ बजे बोलाएको वार्ता अस्वीकार गर्दै महासंघ आन्दोलनमा उत्रेको हो । महासंघले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै धर्ना सुरु गरेको हो ।

गत वर्षको तथ्यांकअनुसार हाल मुलुकभर २७ हजार ३४३ सामुदायिक विद्यालय छन् । स्थायी, अस्थायी र राहत गरी १ लाख ५७ हजार ३५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार ६ विद्यार्थी छन् ।

धर्नामा देशभरबाट आएका शिक्षक र विद्यालय कर्मचारी संलग्न छन् । महासंघले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषय सम्बोधन माग गर्दै आएको छ ।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा भाग लिन काठमाडौंमा आउन शिक्षक र कर्मचारीलाई आग्रह गरिएको जानकारी दिए । उनले सरकार र महासंघबीच २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते भएका सम्झौतालाई विधेयकले यथोचित सम्बोधन नगरेको गुनासो गरे । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय