काठमाडौं– चालु आर्थिक वर्ष २०८०–८१ को सुरुवाती दुई महिनामा मुलुकले २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात भने २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँमा खुम्चिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार दुई महिनामा मुलुकले कुल २ खर्ब ८६ अर्ब १९ करोडको वैदेशिक व्यापार गर्दा २ खर्ब ३३ अर्ब ३० करोड बराबर घाटा बेहोरेको छ ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात ५.६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच दशमलव ३२ प्रतिशतको गिरावट देखिएको हो ।

गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र १ खर्ब ६० अर्ब ७५ करोड बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड बराबरको निर्यात भएको छ । अर्थात् नेपालले यो अवधिमा भारतसँग मात्र १ खर्ब ४४ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरको छ ।

त्यस्तै, चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब ४६ अर्ब बराबर हो । नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ ।

साउन र भदौमा अमेरिकाबाट २ अर्ब २२ करोड बराबरको वस्तु आयात गर्दा ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको निर्यात गरेको देखिन्छ । अमेरिकासँगको व्यापार नाफा १ अर्ब १४ करोड बराबर हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय