काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमइज) को प्रवर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायत सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बिहीबार महासंघको सचिवालयमा हस्ताक्षर गरेका हुन् ।

दुवै संस्थाबीच भएको समझदारी अनुसार वाणिज्य बैंकहरू र एसमएमइजबीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाइ समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूबीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यावसायिक वातावरण सिर्जना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूको हित प्रवर्द्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमइजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाह सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमइजको प्रवर्द्धनमा दुवै संस्थाबीच भएको यो समझदारी कोशेढुंगा हुने बताए । ‘आजबाट हामीले सहकार्यको नयाँ मार्गतर्फ पाइला हालेका छौं, निश्चयनै एसमएमइजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अव सम्बोधन गर्नेछ,’ अध्यक्ष गोल्छाले भने, ‘एसमएमइजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि उपस्थिति रहेको सो अवसरमा बैंकर्स संघका अध्यक्ष दाहालले एसएमइजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझदारीमाथि आफूलाई गर्व महसुस भएको बताउँदै अगाडि थपे, ‘हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं । हामीबीचको सहकार्य निरन्तर अघि बढ्ने बढाउँछौं,’ अध्यक्ष दाहालले भने, ‘हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौं ।’ अहिले पनि मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैंकिङ पहु“च विस्तार भइसकेको जानकारी गराउँदै महासंघको यो सहकार्य पछि तल्लो तहसम्म गएर वास्तविक सहयोग खोजिरहेका एसएमइजहरुलाई सघाउन थप सहयोग पुग्ने उनले बताए ।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डिबी बस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग, व्यवसायले ठूलो राहत महसुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत बसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिबद्धता जनाए ।

अन्तराष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमइजहरुको ८० प्रतिशत समस्या ऋणमा सहज पहुँचको अभाव नै रहेको पाइएकोले एसएमइजहरुलाई नै केन्द्रित गरी भएको यो समझदारीले अब त्यो समस्यालाई सम्बोधन गर्ने विश्वास प्रकट गरे । मुलुकभित्रको कुल रोजगारीमा करिब ९५ प्रतिशत योगदान एसएमइजहरुकै भएकाले यो समझदारीले एसमएमइजहरु फष्टाउन विशेष सहयोग पुग्ने उनको धारणा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय