चितवन– चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैंडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट ३.५ किलोमिटर दक्षिणपूर्वमा खाल्डोमा पारेर गैंंडा मारिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैंडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैंडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने, ‘६ वर्षको गैंडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैंडाको खाग छैन ।’

६ वर्षको गैंडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैंडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । सानो गैंडा अन्दाजी तीन दिन पहिले र ठूलो गैंडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ ।

बिहीबार साँझ घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए । यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैंडा मरेका हुन् । प्राकृतिक कारणले पाँचवटा गैंडा मरेका छन् । गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैंडा मारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय