काठमाडौं– आइसिटी अवार्ड २०२३ को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटी अवार्डका ३ विधामा विभिन्न ४ चरणको छनोटपश्चात पब्लिक भोटिङ सञ्चालन भएको हो । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा उत्कृष्ट ५ को छनोटपछि हाम्रो पात्रो अन्तर्गतको हाम्रो पे एपमार्फत पब्लिक भोटिङ सुरु गरिएको आयोजकले जनाएको छ । भोटिङ मंसिर २४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रिजेन्टेसन तथा स्पिड डेटिङ सेसनबाट छनोट भएका उत्कृष्ट ५ ले क्याटेगोरी अवार्ड विजेताको लागि र उत्कृष्ट १३ मा पर्न सफल ३९ प्रतिस्पर्धीले हाम्रो पे ब्लिक च्वाइस आइसिटी अवार्डको लागि पब्लिक भोटिङ सञ्चालन गरिएको हो । क्याटेगोरी अवार्ड भोटिङको लागि एउटा आइडीले एक दिनमा एउटा विधामा एउटामात्र भोट गर्न सकिनेछ भने पब्लिक च्वाइसमा इच्छाअनुसारको भोट गर्न सकिनेछ । सर्वोत्कृष्ट छनौटको लागि जुरी समितीको फिल्ड भिजिट पनि सञ्चालन हुनेछ ।

लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्ने प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा १३ विधामा नोमिनेसन खुला गरिएको थियो । प्राप्त ६०० बढीको अनलाइन नोमिनेसनबाट सम्पूर्ण विधामा सर्वोत्कृष्ट छनोट १४ जना जुरी सदस्यहरुले विभिन्न चरणको छनोट प्रक्रिया सञ्चालनमा रहेको आयोजकको भनाइ छ । दक्षिण एसियाली देशका स्टार्टअपहरुलाई लक्षित गरेर साउथ स्टार्टअप अवार्ड पनि सञ्चालनमा छ । यसको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विज्ञहरुलाई जुरी समितिमा समावेश गरिएको छ ।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, रासन टेक्नोलोजिज प्रालि र यार्सा टेक प्रालि रहेका छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टमा डिजी बज, फास्ट बैंकिङ, मनी मित्र, क्युकआरपिए र यात्री पी १ रहेका छन् । राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ङ्सेर, ड्रेसन, दृश्य, इन्टर्नसाथी र प्रस्ट नेपाली रहेका छन् ।

यी उत्कृष्ट ५ सँगै अन्य १३ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको बारेमा तयार पारिएको विशेष टेलिभिजन कार्यक्रम पनि प्रसारणको तयारीमा रहेको संस्थाको भनाइ छ । ग्रान्ड फिनालेअघि कान्तिपुर टेलिभिजनबाट ५ वटा एपिसोडहरु प्रसारण हुनेछ ।

यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनोट प्रक्रिया जारी रहेको बताइएको छ । प्रोफेसनल एक्सिलेन्स, छनोट प्रक्रिया सञ्चालनमा छ । त्यसै गरी, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा दोस्रो चरणको छनोट प्रक्रिया सञ्चालन भइरहेको छ ।
आइसिटी अवार्डको ग्रान्ड फिनाले पुस ६ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय