काठमाडौं– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार कम प्रिमियममा आजीवन सुरक्षा दिने बीमा योजना ‘सही प्लान’ ल्याएको हो । कम्पनीले यसलाई नेपालकै पहिलो जीवन बीमा योजना भनेको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्त रूपमा उक्त योजना सार्वजनिक गरेका थिए । यस योजना अन्तर्गत वार्षिक ४० हजार रुपैयाँ प्रिमियम तिरेर ३१ लाख रुपैयाँ पाइने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार बीमितले बुझाएको सम्पूर्ण प्रिमियम रकम ऊ ७० वर्षको भएपछि फिर्ता हुनेछ । बीमितको निधनपछि कम्पनीले नजिकका हकदारलाई २५ लाख रुपैयाँ भुक्तानी गर्नेछ ।

कम्पनीका सीइओ प्रकाशविक्रम खत्रीका अनुसार ‘सही प्लान’ योजनामा ४० हजार रुपैयाँ प्रिमियममा २५ लाखको बीमा गर्न सकिन्छ । न्यूनतम ६ लाखको बीमा गरेको व्यक्तिले उमेर ७० वर्ष पुगेपछि प्रिमियम रिफन्डबापत ६ लाख १० हजार ७८५ रुपैयाँ पाउनेछ । उसको निधनपछि आफन्तले २५ लाख रुपैयाँ पाउनेछन् ।

यसमा न्यूनतम बीमांक रकम ५ लाख रुपैयाँ छ । यसका साथै दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ अर्थात् १ करोड रुपैयाँसम्मको सुविधा रहेको कम्पनीले जनाएको छ । दुर्घटनाबाट पूर्ण अशक्त भएमा अधिकतम १ करोडसम्मको सुविधा छ । बाँकी अवधिको बीमाशुल्क छुट, बीमांकको आधारमा कम्तीमा १० वर्षसम्म मासिक अशक्त सुविधा रहेको कम्पनीले जनाएको छ । यस्तै ३५ घातक रोगहरू विरुद्ध ५० लाख रुपैयाँसम्मका उपचार खर्चको सुविधा र सहुलियत दरमा नियमानुसार ऋण लिन पाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय