नेपालगन्ज– यहाँका ठूला सुविधा सम्पन्न होटलको कारोवारले विस्तारै गति लिन थालेका छन् । पर्यटन गन्तव्यको केन्द्र बिन्दुलाई प्रमुख आधार बनाएर नेपालगन्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य बनाएर यहाँ पाँचतारे सहितका सुविधासम्पन्न होटल खुलेका छन् । कोरोनाका कारण लगभग शून्यमा झरेका यहाँका होटलले पुरानै लयमा फर्किन लागेका हुन् ।

होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष भीमप्रसाद कँडेलका अनुसार एक दशकयता यहाँ पाँचतारे, चारतारे र तीन तारेसहित दर्जनभन्दा बढी सुविधासम्पन्न होटल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिग्नेट इन कृष्णा, सिटी प्यालेस र किचन हटलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएको पाइन्छ । ‘पछिल्लो समय लगभग थला परेको अवस्थामा पुगेका नेपालगन्जका ठूला मात्र हैन स–साना होटल र पर्यटन व्यवसायले पनि अहिले गति लिन थालेका छन्,’ उनले भने ।

साबिकको सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारिक तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको यहाँका होटल व्यवसायी राज्यको नयाँ शासकीय संरचनाले पारेको अप्ठेरोबाट उम्कन नपाउँदै उनीहरुलाई ११ महिनाको लकडाउनले थप कठिन मोडमा पुर्याइदिएको छ । सुदूरपश्चिम छुट्टै प्रदेश हुनु र मध्यपश्चिम क्षेत्र प्रदेश नं ५ र यसको राजधानी बुटवल हुनुले नेपालगन्जमा ठूलास्तरका कार्यक्रम नहुँदा लगानी डुब्ने चिन्ताले होटल व्यवसायीलाई पिरोल्दै आएको थियो । लकडाउन सकिएपछि होटल व्यवसायीले लिएको घर भाडामा नेपालगन्ज उद्योग वाणिज्य संघले घरधनीसँग छुट गराएको थियो । व्यवसायीमा थोरै भए पनि आर्थिक भार कम भएको होटल व्यवसायी सन्तोष गुप्ताले बताए ।

यहाँको होटल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँको होटल निकै स्तरीय छन् । लकडाउन सकिएपछि भारतीय पर्यटकको आगमन त्यति नभए पनि आन्तरिक पर्यटकका लागि जेनतेन व्यवसाय चलेको व्यवसायी बताउँछन् ।

अध्यक्ष कँडेलका अनुसार नेपालगन्जमा ठूला तथा स्तरीय होटल तथा पर्यटन व्यवसायमा पछिल्लो पाँच वर्षयता करिब पाँच अर्बभन्दा बढी लगानी भएको छ । यहाँको होटल व्यवसायलाई पर्यटनको विकाससँग जोड्न नेपालगञ्जमा मेरो प्लानेट, फनपार्क, वाटरपार्क, रानी तलाउ, नेपालगन्ज पार्क, बागेश्वरी मन्दिर, बर्दियाको ठाकुरबाबा, कान्तिताल पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिएको छ ।

त्यसैगरी, नाट्टा नेपालले बर्दिया राष्ट्रिय निकुञ्जसम्म नेपालगन्जबाट पर्यटक बससमेत सञ्चालनमा ल्याएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय