तनहुँ– बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालन गर्ने तयारी छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

टावरभित्र व्यवस्थापन तथा कोठाहरु मिलाउने र सभा हल निर्माण कार्य भइरहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए । त्यसैगरी केबुलकारतर्फ एकपटक परीक्षण गरिसकिएको र कुनै कुनै टावरमा सामान्य सुधार गर्नुपर्ने भएकाले अन्तिम तयारीको कार्य भइरहेको उनले बताए । उनका अनुसार आउँदो माघ १ गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको छ । केबुलकार सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय अनुमतिपत्र लिनका लागि प्रक्रियामा रहेको छ ।

५० देखि २५ हजारसम्म टिकट शुल्क
जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबुलकार निर्माण गरिएको छ । बन्दीपुर केबुलकारमा ५० देखि २५ हजारसम्म टिकट शुल्क कायम गरिएको कम्पनीले जनाएको छ । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थी तथा ६५ वर्षमाथिका नागरिकलाई टिकट दरमा सहुलियत गरिएको छ ।

एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलोकन गर्दै उक्त केबुलकारको यात्रामा मज्जा लिन सकिनेछ । केबुलकारको २१ डिब्बा यात्रु बोक्ने, ६ वटा रेस्ट्रो क्याबिन र दुई एडभेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठजनासम्म यात्रुको क्षमता हुनेछ । एडभेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको हुने इन्जिनियर पौडेलले बताए । केबुलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेस्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ ।

केबुलकार र पाँचतारे होटल गरी ३ अर्ब ५८ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको हो । बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिकस्थलको अवलोकन र भरपुर मनोरञ्जन लिन सक्नेछन् । करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक केबुलकारको परीक्षण कार्य सम्पन्न गरिसकेको छ । असोजबाट सञ्चालनमा ल्याउने तयारी गरे पनि प्राविधिक कारणले ढिलाइ हुन गएको हो । बन्दीपुरमा घुम्न आउने पर्यटकले नयाँपन र भरपुर मनोरञ्जन पाउनेछन् । पाँचतारे होटलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका रमणीय डाँडाकाँडा र फाँटहरु सजिलै देख्न सकिनेछ । उक्त होटलको करिब ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । रङरोगन र अन्य तयारीको व्यवस्थालगायत केही काम बाँकी रहेकोे छ ।

केबुलकारमा यात्रुको आवतजावतको समयपछि साँझपख केबुलकारभित्र रेष्टुरन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । तल्लो र माथिल्लो स्टेसनमा रेस्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । उनले भने, ‘कम्पनीले शाकाहारी, मांसाहारी लगायतका खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराउने छ ।’ प्रत्येक साँझ ५ बजेपछि केबुलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको छ । केबुलकारभित्र रेस्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ देखि ९ बजेसम्म उक्त सेवा दिइनेछ ।

त्यसैगरी केबुलकारको प्रवेशद्वारमा २६ करोडको लागतमा अर्को सुविधासम्पन्न आधुनिक होटल पनि निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा ठूलो संख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबुलकार, रेस्ट्रो कार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताउनुभयो । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट बन्दीपुरमा निर्माण गरिएको १७ तल्ले होटलभित्रै केबुलकार पुगेर टुंगिनेछ ।

सत्र तल्लाको पाँचतारे होटल
बन्दीपुरमा १७ तल्लाको ‘क्विन टावर’ नाउँ दिइएको पाँचतारे होटल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । ‘हिलटप नाम दिइएको उक्त होटलमा करिब ९० वटा कोठा रहेको र तीमध्ये ७८ वटा कोठा बस्नका लागि प्रयोगमा ल्याइनेछ । एक हजारभन्दा बढी क्षमताको ठूलो सभा हललगायत निर्माण भइरहेको छ । होटलको सुरु तल्लाबाट १७ तल्लासम्म क्यापसुल लिफ्टबाट सिधै ‘क्विन टावर’सम्म जान सकिने व्यवस्था रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर पौडेलले जानकारी दिए ।

बन्दीपुर केबुलकार र पाँचतारे होटल सञ्चालनमा आएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा यहाँका व्यवसायीको छ । बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै भरपुर मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको छ । ‘बन्दीपुरमा घुम्न आउने पर्यटकलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य हो,’ अध्यक्ष शर्माले भने ।

केबुलकार र पाँचतारे होटलको प्रचारपसारसँगै आन्तरिक एवं बाह्य पर्यटकको चलहपहलमा वृद्वि हुने बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैंश गुरुङले बताए । आर्थिक मन्दीका कारण निराश बनेका यहाँका होटल व्यवसायीहरु केबुलकार र होटल सञ्चालनमा आउने भएपछि उत्साहित भएका छन् । ‘बन्दीपुरमा अहिले पनि दैनिक पाँच सयको हाराहारीमा पर्यटकको आवागमन भइरहेको छ,’ उनले भने, ‘पर्यटकको संख्या वृद्धि हुँदा यहाँका व्यापार व्यवसाय पनि फस्टाउन सहज हुनेछ ।’ बन्दीपुरमा गत भदौको दोस्रो सातादेखि पर्यटकको चहलपहलमा वृद्वि हुँदै गएपछि यहाँका होटल व्यवसायीले राहत महसुस गर्न थालेका छन् ।

तल्लो स्टेसनको भवन अन्य केबुलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ । सोही भवनमा अति विशिष्ट कक्ष, खुल्ला रेस्टुरेन्ट (टुरिस्ट कोच), अतिथि स्वागत गर्नेलगायत कार्य एउटै भवनबाट हुनेछ ।

समग्र बन्दीपुरको विकासमा टेवा
बन्दीपुर केबुलकार र होटल सञ्चालनमा आएपछि समग्र बन्दीपुरको पर्यटन प्रवर्द्धनमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ । समग्र बन्दीपुरको विकाससँगै यहाँ सञ्चालित होटल र होमस्टे प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘बन्दीपुरको विकासमा दूरगामी प्रभाव पार्नेछ,’ उनले भने, ‘बन्दीपुरको पर्यटनमाथि उकासिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेमिनार हल पनि बन्दीपुरमा निर्माण भएकाले पर्यटकको संख्या वृद्वि हुन्छ ।’

केबुलकारसँगै सिसाको भ्यू टावर, सिसाको पुललगायत मनोरञ्जनात्मक र साहसिक खेलका लागि निर्माणका कार्य तीव्र गतिमा भइरहेको छ । बन्दीपुरका खड्गमाई, बिन्दावासिनी, चामुण्डा र थानीमाईलाई जोडेर चारधामका रुपमा पर्यटन प्रवर्द्धन गर्न लागिएको छ । अध्यक्ष थापाले भने, ‘यहाँका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको विकासमा परिवर्तन आउनेछ, काँचुली फेरिनेछ ।’

सेयर निष्कासनको तयारी
त्यसैगरी १२ प्रतिशत सेयर जारी गर्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यसमध्ये १० प्रतिशत कर्मचारी र सर्वसाधारणका लागि हुनेछ भने दुई प्रतिशत स्थानीयवासीका लागि छुट््याइनेछ । केबुलकार र ‘क्विन टावर’ र होटल सञ्चालनमा ल्याउनुअगावै सेयर निष्कासन गर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय