काठमाडौं– सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।

आर्थिक वर्ष २०७८–७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) पुरस्कृत भएको छ ।

निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एन्ड फिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् ।

यस्तै बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, ५० करोडदेखि १ अर्ब कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज र ऊर्जामूलक उद्योगतर्फ भोटेकोसी जलविद्युत् कम्पनी सम्मानित भएका छन् ।

विप्रेषण व्यवसायतर्फ आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार साह तथा संस्थागततर्फ सबैभन्दा बढी आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्यअभिवृद्धि कर समयमै दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालिलाई सरकारले सम्मान गरेको छ ।

सरकारले उत्कृष्ट करदातालाई एक वर्षका लागि विशेष प्रकारको परिचयपत्र उपलब्ध गराउने भएको छ । कार्यक्रममा अर्थसचिव डा कृष्णहरि पुस्करले उत्कृष्ट करदातालाई परिचयपत्र दिने प्रक्रिया आजैदेखि सुरु भएको जानकारी दिए । सो अवसरमा अर्थमन्त्री डा महतले कर प्रशासनमा उत्कृष्ट सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय