काठमाडौं– गत आर्थिक वर्ष २०७९–८० सम्ममा १ खर्ब १३ अर्ब ७ करोड ५८ लाख रुपैयाँ बराबर कर उठ्न बाँकी रहेको देखिएको छ ।

बिहीबार सार्वजनिक भएको आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदनअनुसार २ लाख ७० हजार ३ सय ८३ करदाताबाट कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कलगायत शीर्षकमा यो रकम उठ्न बाँकी देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा ६५ अर्ब ३५ करोड ६७ लाख २२ हजार ७ सय रहेको कर बक्यौता रकम एक वर्षमै ४७ अर्ब ७१ करोड ९१ लाख ४० हजार रुपैयाँ थपिएको छ । त्यस्तै, विभिन्न कर कार्यालयबाट भएको कर निर्धारणउपर करदाताले चित्त नबुझाई प्रशासकीय पुनरवलोकनमा गएका करदाताको संख्या करिब साढे पाँच हजार देखिएको छ ।

गत असार मसान्तसम्म ५ हजार ४ सय ४३ करदाता मुद्दा मामिलामा गएका छन् । प्रशासकीय पुनरावलोकनमा गएको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ४५ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ बराबर छ । अघिल्लो आर्थिक वर्षमा यस्तो रकम १ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँ बराबर थियो ।

कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी देखिएका छन् । विभागको प्रतिवेदनअनुसार १ लाख ३६ हजार ८ सय २२ करदाताबाट ५९ अर्ब ४० करोड ८४ लाख ८६ हजार बराबर आयकर बक्यौता देखिएको छ । त्यस्तै, मूल्य अभिवृद्धिकर (भ्याट)तर्फ १ लाख २९ हजार ४ सय ८५ करदाताबाट ५१ अर्ब १२ करोड ६० लाख रुपैयाँ असुली हुन बाँकी रहेको छ ।

अन्तः शुल्कतर्फ १ हजार ५ सय ५ करदाताबाट १ अर्ब ६१ करोड ५६ लाख ५७ हजार रुपैयाँ बराबर राजस्व असुली हुन सकेको छैन । अन्यतर्फ २ हजार ५ सय ७१ करदाताबाट ९२ करोड ५७ लाख १० हजार रुपैयाँ बराबर कर उठेको छैन ।

प्रशासकीय पुनरवलोकनलगायत न्यायिक निरुपणमा गएका करदाताको संख्या हेर्दा आयकरतर्फ सबैभन्दा धेरै २ हजार ८ सय ८ करदाता बाट १ खर्ब २७ अर्ब ६९ करोड ४५ लाख ४९ हजार बराबर कर बक्यौता देखिन्छ । त्यस्तै, भ्याटतर्फ १४ अर्ब ६४ करोड ११ लाख १० हजार रुपैयाँ बराबर कर तिर्न बाँकी २ हजार ३ सय १८ करदाता मुद्दा मामिलामा गएका छन् ।

अन्तःशुल्कतर्फ १ सय ६४ करदाताको ३ अर्ब १३ करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबर कर रकम न्यायिक अपिलका लागि गएको छ ।

त्यस्तै, गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयमा ७६ अर्ब १ करोड ४२ लाख बराबर बेरुजु देखिएको छ । यसरी सरकारले उठाउनुपर्ने कर बक्यौता र निर्धारण भएको कर रकममाथि मुद्दा मामिलामा जाने करदाताको सङ्ख्या बढ्दै गएपछि त्यसको असर वार्षिक राजस्व असुलीमा देखिएको छ ।

आन्तरिक राजस्व विभागमार्फत गत आव २०७९–८० मा ६ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ कर असुली गर्ने लक्ष्य राखिएकोमा लक्ष्यको ७६.५७ प्रतिशत अर्थात् ४ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ बराबर मात्रै उठेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय