मंसिर– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ ।

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०–८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार ९ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।

सोही अवधिमा नेपालबाट ९ करोड ६५ लाख ७२ हजार ९ सय मूल्यबराबरको ६ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताए । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको ३ महिनामै ३८ करोड ३१ लाख ८७ हजार २ सय रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।

नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेंडा छन् । यीमध्ये सबैभन्दा बढी ९ करोड ५४ लाख ७२ हजार मूल्यबराबरको ५ हजार ९ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिए ।

यसैगरी तरकारीमा गोलभेंडा ५ लाख १२ हजार मूल्यबराबरको २६ मेट्रिक टन र ५ लाख ८९ हजार मूल्यबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेंडा भारत निर्यात हुने गरेको छ ।
१९ करोड बढीको गोलभेंडा आयात

चालु आवको प्रथम त्रैमासिक अवधिमा भारतबाट गोलभेंडा मात्रै १९ करोड ३७ लाख ४० हजार मूल्यबराबरको ९ हजार ६ सय ८७ मेट्रिक टन आयात भएको छ ।

सोही अवधिमा भारतबाट २ करोड ७ लाख ८० हजार मूल्यबराबरको १ हजार ३९ मेट्रिक टन हरियो खुर्सानी र ३ करोड ७१ लाख ८० हजार मूल्यबराबरको १ हजार ८ सय ५९ मेट्रिक टन गाँजर निर्यात भएको छ । तरकारीमध्ये मुला र बन्दाकोभीचाहिँ भारतबाट आयात भएको छैन । धनकुटा, इलाम, झापा, मोरङ, सुनसरीलगायतका कोशी प्रदेशका जिल्लामा बन्दाकोभीको ठूलो मात्रामा उत्पादन हुँदै आएको छ ।

कोदो र आलुमा पनि भारतकै भर
नेपालका मधेसदेखि हिमाली भेगसम्म उत्पादनको प्रचुर सम्भावना भएको कोदो र आलुमा समेत भारतकै भर पर्नुपर्ने अवस्था छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा २३ करोड ६१ लाख ६० हजार मूल्यबराबरको ४ हजार ९ सय २० मेट्रिक टन कोदो भारतबाट आयात भएको छ ।

सोही अवधिमा भारतबाटै ९९ करोड ८९ लाख ४ हजार मूल्य बराबरको ४१ हजार ६ सय २१ मेट्रिक टन आलु आयात भएको कार्यालयले जनाएको छ । ती महिनामा १ अर्ब ८६ करोड ६५ लाख ६३ हजार मूल्यबराबरको ३६ हजार ७ सय ३० मेट्रिक टन फलफूल भारतबाट आयात भएको छ ।

यसैगरी उक्त अवधिमा २ करोड ५९ लाख ९२ हजार मूल्यबराबरको ३ सय ६१ मेट्रिक टन चना, ९ करोड २२ लाख ४ हजार मूल्यबराबरको १ हजार ३६ मेट्रिक टन मुसुरो दाल, १२ करोड ८६ लाख मूल्यबराबरको १ हजार २ सय ८६ मेट्रिक टन लसुन र ९८ लाख ५६ हजार मूल्यबराबरको ६ सय १६ मेट्रिक टन उखु भारतबाट आयात भएको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट चालु आवको ३ महिनामा खाद्यान्न, ताजा तरकारी, दलहन, तेलहन, फलफूल, बोटबिरुवा, प्रशोधित सामग्री, काठका सामान, मसाला बाली र बीउबिजन गरेर कुल ५ अर्ब १० करोड ६० लाख ३१ हजार मूल्यबराबरको आयात भएको कार्यालयका सूचना अधिकारी ठाकुरले बताए ।

सोही अवधिमा तरकारी, जडीबुटी, प्लाइउडका सामान, अम्रिसोलगायतका कुल ५ अर्ब २७ करोड ३६ लाख २९ हजार मूल्यबराबरको नेपाली उत्पादन भारत, बंगलादेशलगायतका मुलुकमा निर्यात भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय