काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजारमा सूचीकृत ८८ वटा कम्पनीलाई कारबाही गरेको छ । बोर्डले तोकिएको समयमा वित्तीय विवरण नबुझाएको भन्दै ती कम्पनीलाई जरिवाना गराएको हो ।

८८ वटा कम्पनीलाई साढे ५३ लाख रुपैयाँ जरीवाना गर्ने निर्णय भएको बोर्डले जनाएको छ । तोकिएको समयमा वित्तीय विवरण नबुझाएका कम्पनीमध्ये ६९ वटालाई ५० हजार रुपैयाँका दरले र १९ वटालाई १ लाख रुपैयाँका दरले जरिवाना गरेको छ ।

कारबाहीमा पर्नेमा चार विकास बैंक, तीन होटल तथा पर्यटन क्षेत्रका, तीन लगानी समूहअन्तर्गतका, १/१ व्यापारिक र अन्य, २४ लघुवित्त, २ जीवन बीमा, ५ निर्जीवन बीमा, ४ उत्पादन तथा प्रशोधन क्षेत्रका, २ वित्त कम्पनी र ३९ जलविद्युत् कम्पनी छन् ।

धितोपत्रको दोस्रो बजारमा सूचीकृतमध्ये जलविद्युत् क्षेत्रका धेरै कम्पनी कारबाहीमा परेका छन् । यस क्षेत्रका ३९ कम्पनीलाई बोर्डले २४ लाख रुपैयाँ जरिवाना गरेको छ ।

बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले ती कम्पनीलाई जरिवाना तिराउने निर्णय गरेको थियो । बोर्डका अध्यक्ष रमेशकुमार हमालका अनुसार यतिधेरै सूचीकृत कम्पनी कारबाहीमा परेको पहिलोपटक हो ।

बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम जरीवाना गरेको हो । धितोपत्रसम्बन्धी ऐनको दफा १०१ को उपदफा ४ मा कसैले जानीजानी वा बदनियत साथ ऐन वा ऐनअन्तर्गत बनेका नियम वा विनियमबमोजिम पेश गर्नुपर्ने हिसाबकिताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात समयमा पेश नगरेमा, बोर्डले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरीवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

बोर्डले गत साउन ११ गते एक सूचना प्रकाशित गरी कानुनी प्रावधानबमोजिम प्रक्रिया पूरा नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको थियो । बोर्डको चेतावनीलाई बेवास्ता गर्दै समयमा वित्तीय विवरण नबुझाएका कम्पनी कारबाहीमा परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय