काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीले अर्थतन्त्र बिग्रेको भन्दै हौवा फैलाउने काम गरेको आरोप लगाएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले २७औं वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा उनले निजी क्षेत्रका व्यवसायीले बैंकहरुले लिँदै नलिएको १७–१८ प्रतिशत ब्याज लिएको भन्दै हौवा फैलाएको बताए ।

‘१७–१८ प्रतिशत ब्याज कसैले लिएको छ भने तयसको स्टेटमेन्ट लिएर आउनुस्, हामी फिर्ता गराउँछौं,’ गनर्भर अधिकारीले भने, ‘यहाँ हुँदै नभएको हौवा फैलाउने काम भएको छ, अराजकता फैलाउने काम भएको छ ।’

बैंकहरुले बढी लिएको ब्याज राष्ट्र बैंकले फिर्ता गराएको प्रसंग उल्लेख गर्दै उनले भविष्यमा पनि फिर्ता गराउने बताए ।

निजी क्षेत्रका व्यवसायीले आफूमाथि अनावश्यक आरोप लगाएको गुनासो गर्दै उनले निजी क्षेत्रले पनि नाफा घटाएर आर्थिक गतिविधि चलायमान बनाउन योगदान गर्नुपर्ने बताए । ‘तपाईंहरुले पनि सस्तोमा घर बनाइदिनुस् त अनि मान्छेले धमाधम नयाँ घर बनाउन थाल्छन् अनि अर्थतन्त्र चलायमान हुन्छ । आर्थिक गतिविधि बढ्छ,’ उनले भने ।

व्यवसायीले आधारहीन कुरा गरिरहेको पनि उनले बताए । मौद्रिक नीतिमा सुधार गर्नुपर्छ भनेर आवाज उठाउनेहरुप्रति संकेत गर्दै गभर्नर अधिकारीले कुन कुन बुँदामा के गर्नुपर्छ त्यो टिपेर आउनुस् हामी सुधार गर्न तयार छौं ।

मौद्रिक नीतिको समीक्षामा ढिलाइ भएको भन्दै सञ्चार माध्यममा आएका समाचारको पनि उनले आलोचना गरे । समीक्षा गर्दैमा अर्थतन्त्र सुध्रिहाल्ने र समीक्षा नगर्दैमा बिग्रने होइन भन्दै उनले थपे, ‘समीक्षा नगरे पनि आकास खस्दैन ।’

व्यवसायीले क्षमताले नभ्याउने गरी ऋण लिँदा समस्या आएको तर्क गरेका गभर्नर अधिकारी घाँटी हेरेर हाड निल्न प्रयास गरेको भए यस्तो अवस्था नआउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय