काठमाडौं– विभिन्न पाँचवटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।
खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयका अनुसार सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अलपत्र पार्ने काठमाडौं, पुतलीसडकमा कार्यालय रहेको भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धि साई जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयको फिदिम कार्यालयअन्तर्गत पर्ने मैनाचुली–सिद्धि साई जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा–हेना–सुनामी जेभीलाई एक वर्षको लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
धादिङको धुनीबेसी नगरपालिकाको सिफारिसमा कार्स्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा परेको छ ।