काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ‘एन्जियोप्लास्टी सर्जरी’ गरिएको छ ।

असोजको अन्तिम साता उनी चीन भ्रमणमा रहेको बेला मुटुमा ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएको र चीनको पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा आकस्मिक ‘कोरोनरी एन्जियोग्राफी’ गर्दा ‘ओन्टस मार्जिनल’ शाखामा अवरोध देखिएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठको उपचारका क्रममा गरिएको परीक्षणमा मुटुको अर्कोपट्टि धमनीमा समेत केही अवरोध देखिएको जानकारीमा आएको थियो । मुटुमा हल्का असहज महसुस भएपछि गएराति उनी अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका चिकित्सक डा अरुण मास्केसहितको टोलीले अवरोध रहेको मुटुको भागमा गए राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको गृह मन्त्रालयले जनाएको छ । सघन उपचार कक्षमा रहेका श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य एवं स्थिर रहेको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरूबीच सामान्य कुराकानीसमेत भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय