काठमाडौं– एनसेलले सेयर खरिदबिक्रीको विषयमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई लिखित जवाफ पठाएको छ । उसले पत्रमा सेयर खरिदबिक्रीसम्बन्धी आवश्यक कागजात संकलन गरिरहेकाले केही समयमै आवश्यक स्वीकृति प्रक्रिया अघि बढाउने जनाएको छ ।

संसद्को अर्थ समिति बैठकमा बुधबार नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलले जवाफ दिएको जानकारी गराएका हुन् ।

प्राधिकरणले मंसिर १५ गते एनसेललाई सेयर किनबेचअघि स्वीकृति लिन निर्देशन दिएको थियो । एनसेलको ८० प्रतिशत सेयर बेलायती कम्पनीले किनेको सार्वजनिक भएपछि मात्रै नियामक निकायले निर्देशन दिएको थियो ।

एनसेलको पत्रको बेहोराः
यस कम्पनीको सेयरधनी रेनोल्डस् होल्डिङको स्वामित्वमा रहेको शतप्रतिशत सेयर किनबेच गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडबीच सेयर बिक्री सम्झौतासम्म गरेकाले त्यहाँको पत्रका सम्बन्धमा दूरसञ्चार नियमावलीको २०५४ को नियम १५. १ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको सेयर खरिदबिक्री विनियमावली २०७६ को विनियम ४ को परिपालन प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लेखित सेयर खरिदबिक्रीका लागि भएको दुईपक्षीय सम्झौता समेतका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षबाट छलफलका क्रममा रहेको अवगत गराउन चाहन्छौं ।

एनसेल आजियाटा लिमिटेड कानुनको शासनमा विश्वास गर्ने जिम्मेवार संस्था भएकाले आफ्नो कानुनी कर्तव्य पालनमा सधैं जागरुक र कटिबद्ध भएको प्राधिकरणमा अवगत नै छ । अतः त्यो पत्रमा उल्लेखित नियमावली र विनियामवलीको पूर्ण पालना गर्न सदा झैं एनसेल आजियाटा प्रतिबद्ध रहेको बेहोरा सादर अनुरोध गर्दै नेपाल दूरसञ्चार प्राधिकरण अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनियमावली २०७६ को विनियम ५ मा उल्लेखित कागजात संकलन हुनासाथ दूरसञ्चार नियमावलीको २०५४ को नियम १५.१ (ट) र नेपाल दूरसञ्चार प्राधिकरणको सेयर खरिदबिक्री विनियमावली २०७६ को विनियम ४ अनुसार त्यस प्राधिकरणसमक्ष सेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने व्यहोरा सादर अवगत गराउन चाहन्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय