काठमाडौं– सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधिसमेत दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

समितिका सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् ।

यस्तै बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ । सदस्यमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गरिएको छ ।

विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’का लागि प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय