काठमाडौं– सेयर बजारको सूचक अस्वाभाविक रुपमा बढेपछि आइतबार दोस्रो बजारमा १० मिनेट पनि सेयर किनबेच हुन पाएन । बजार अस्वाभाविक रुपमा बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोबार रोकेको हो ।

पहिलोपटक कारोबार सुरु भएको ५ मिनेटमै ४ प्रतिशतले सेयर सूचक बढेपछि दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ११ः५ मा कारोबार रोकेको थियो । रोकिएको २० मिनेटपछि पुनः सुरु भएको कारोबार फेरि सीमा नाघ्ने गरी सूचक बढेपछि दोस्रोपटक ११ः२७ मा ४० मिनेटका लागि रोकेको थियो ।

४० मिनेटको स्थगनपछि १२ः०७ मा पुनः सुरु भएको कारोबार फेरि २ मिनेट नहुँदै रोकिएको छ । यस दिन सेयर सूचक नेप्से ६ प्रतिशतले बढेपछि धितोपत्रको दोस्रो बजारमा १० मिनेट पनि धितोपत्र किनबेच हुन पाएन ।

नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेटको लागि कारोबार बन्द हुन्छ । २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेटको लागि र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द गर्नुपर्ने नियम छ ।

आइतबार १० मिनेटको कारोबारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ धितोपत्र किनबेच हुँदा कारोबार रकम ४८ करोड २४ लाख २२ हजार नाघेको छ । यस अवधिमा ७०१४ पटक कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर बजार बढेको हो । तर यसरी अस्वाभाविक रुपमा बजार बढ्नुपर्ने कुनै कारण नभएको विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय