काठमाडौं– जन्मँदै विवादमा मुछिएको हिमालयन रिइन्स्योरेन्स लिमिटेड (हिमालयन रि) को आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) लाई सर्वसाधारण लगानीकर्ताले रातो झन्डा देखाएका छन् ।

अन्य कम्पनीको हकमा पहिलो वा दोस्रो दिनमै बिक्रीमा राखेभन्दा कैयौं गुणा बढी सेयरका लागि आवेदन पर्ने गरेको बजारमा हिमालयन रिको सेयरका लागि चार दिनसम्म पनि सबै बिक्ने गरी आवेदन नपरेपछि कम्पनीले आईपीओको लागि आवेदन दिन पाउने म्याद थप गरेको हो ।

कम्पनीले मंसिर २७ देखि सर्वसाधारणका लागि आईपीओ खुलाएको थियो । चाँडोमा पुस १ गते आइतबार बन्द हुनुपर्ने आवेदनको म्याद पर्याप्त माग नभएपछि थपेर पुस ११ गतेसम्म पुर्याइएको छ । यसबीचमा आवश्यक संख्यामा आवेदन प्राप्त भए सोसम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी जुनसुकै बेला निष्कासन बन्द गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले १० अर्ब रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रतिसेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २ करोड ४९ लाख कित्ता सेयर बिक्री गर्न खोजेको छ ।

यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले ८ करोड कित्ता सेयर सर्वसाधारणका लागि विक्रीमा राख्दा ४ दिनमै सोको लागि आवेदन परेको थियो । कम्पनीले २०७७ माघ २ गतेबाट सर्वसाधारणका लागि निष्कासन खुला गरेको आईपीओ ओभर सब्स्क्राइबका कारण माघ ६ गते नै बन्द गर्नु परेको थियो । जबकि त्यसबेला सेयरको लागि आवेदन दिन पाउने डिम्याट खातावालाको संख्या नै अहिलेको तुलानामा आधाभन्दा कम थियो । निफ्राले आइपीओ बेचेताका डिम्याट खाताको संख्या २६–२७ लाख मात्रै थियो ।

डिम्याट खाताको संख्या ६० लाख नाघेको अवस्थामा पनि निफ्राको तुलनामा आधाभन्दा कम संख्याको आईपीओ बिक्री नहुनुलाई विश्लेषकहरुले कम्पनीप्रतिको सर्वसाधारणको अविश्वासको रुपमा लिएका छन् । ‘यो सुरुदेखि नै विवादमा मुछिएको कम्पनी हिमालयन रिइन्स्योरेन्सका लागि रातो झन्डा नै हो,’ नाम उल्लेख गर्न नचाहेका ती विश्लेषकले भने । यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता । अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाइन्छ ।

हिमालयन रिइन्स्योरेन्स सुरुदेखि नै विवादमा मुछिएको कम्पनी हो । यो कम्पनीको लाइसेन्स प्राप्त गर्नकै लागि राजनीतिज्ञदेखि नियामक निकायका उच्च अधिकारीसम्लाई ठूलो भेटी चढाउनु परेको चर्चा बजारमा छ ।

यो कम्पनीलाई प्रिमियम मूल्यमा शेयर बिक्री गर्ने अनुमति दिँदा पनि ठूलो आर्थिक चलखेल भएको अनुमान गरिएको छ । त्यसकारण पनि सर्वसाधारणले यो कम्पनीको सेयरमा लगानी गर्न अनिच्छा देखाएको बताइन्छ ।

पछिल्लो समय प्रिमियम थप गरेर आईपीओ बिक्री गरेका कम्पनीको मूल्य दोस्रो बजारमा प्राथमिक बजारको मूल्यभन्दा तल ओर्लेका घटनाले पनि हिमालयनको सेयर नबिकेको हो । यसअघि सोनापुर मिनरल्सले २३७ रुपैयाँ प्रतिकित्तामा बिक्री गरेको सेयरको सूचीकरण भई कारोबार सुरु भएको एक दुई हप्तामै २३७ रुपैयाँभन्दा तल ओर्लेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय