काठमाडौं– एक वर्षपछि धितोपत्रको दोस्रो बजारमा झन्डै ७ अर्ब रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको धितोपत्र कारोबार भएको हो । यसअघि २०७९ पुस २६ गते ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँको थियो । त्यसयता कारोबार रकम घट्दै गएको थियो ।

सेयर बजार लगातार पाँचौं दिन बढेको हो । बजार निरन्तर बढ्दा लगानीकर्ताको मनोबल समेत बढेको छ । केही दिनअघिसम्म कारोबार रकम १ अर्ब वरिपरि हुन्थ्यो ।

आज नेप्सेमा उच्च उतारचढाव देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको थियो । तर लगानीकर्ताहरुले भूतप्रभावी करले असर पर्ने अनुमान गरेका थिए । यसले गर्दा सोमबार दोस्रो बजारमा बिक्री गर्नेहरु हाबी हुँदा बजार घटे पनि अन्तिममा आएर सुधार देखियो ।

बैंक, वित्तीय संस्थाको ब्याजदर घट्दा पनि बजारमा सकारात्मक प्रभाव परेको ठानिएको छ । सोमबार सेयर सूचक नेप्से ३८.१४ बिन्दुले बढेर २०६०.४९ मा पुगेको छ । यस दिन ३०५ कम्पनीको २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता धितोपत्र किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार हाइड्रोपावर समूह बाहेकका १२ उपसूचक उकालो चढेका छन् । बैंकिङ समूहको २.०५ प्रतिशत, विकास बैंक समूहको १.८० प्रतिशत, फाइनान्स समूहको २.५८ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.२५ प्रतिशतले उपसूचक बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय