चितवन– बागमती प्रदेशमा १२ सय ५३ जना अटिजम समस्याबाट ग्रसित छन् । तीमध्ये काठमाडौंमा ४९५, चितवनमा ११३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन् । त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५–६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यहाँ आयोजना गरेको अटिजमसम्बन्धी कार्यशाला गोष्ठीमा दिइएको तथ्यांकअनुसार नेपालमा हाल अटिजम समस्याबाट ग्रसित ४८ सय ८६ जना रहेका छन् । मन्त्रालयका विज्ञ चिकित्सक डा शाकार खनालका अनुसार विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्ने हो भने एक सयमा एक जनामा गरी करिब तीन लाख जनामा यो समस्या रहेको अनुमान गरिएको छ ।

एकजना महिला बराबर चारजना पुरुषमा यो समस्या हुने देखिएको उनले जानकारी दिए । उनले भने, ‘भौगोलिक अवस्थाअनुसार हिमालमा ३ सय २८, पहाडमा २२ सय २९, तराईमा २३ सय २९ जनामा यो समस्या रहेको छ ।’ अटिजमको समस्या गाउँमा भन्दा सहरी क्षेत्रमा बढिरहेको कार्यक्रममा जानकारी दिइयो । गाउँमा १७ सय २८ र सहरमा ३१ सय ५८ जनामा यो समस्या देखिएको तथ्यांकमा उल्लेख छ ।

अटिजम केयर नेपाल सोसाइटीका सुरेन्द्र बज्राचार्यका अनुसार अटिजम रोग नभई समस्या हो । नेपालमा अटिजम भएको १८ महिनादेखि पत्ता लाग्ने गरेको उनले बताए । उनले भने, ‘विश्वका विभिन्न देशमा ६ महिनादेखि समस्या पत्ता लगाउने गरेको भए पनि नेपालमा भने १८ महिनापछि मात्र पत्ता लाग्ने गरेको छ ।’

नेपालमा रहेका अपांगमध्ये ०.८० प्रतिशत अटिजमका रहेको जनाउँदै उनले अटिजम जन्मजात आउने अवस्था रहेको बताए । यो समस्या वंशाणुगत, वातावरण र संक्रमणका कारणले हुने गर्दछ । यसको अहिलेसम्म उपचार नभएको जनाउँदै उनले विभिन्न किसिमको थेरापी तथा पुनस्र्थापनाले सुधार गर्न सकिने जानकारी दिए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव दीपक तिवारीले अटिजम भएकाको विषयमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले पहिलोपटक प्रयास गरेको बताए । यस प्रकारका कार्यक्रमले सरकारका भावी कामहरु र वास्तविक तथ्यांक संकलनमा सहज हुने उनको भनाइ छ । गोष्ठीमा प्रदेशभित्र रहेका स्वास्थ्य संस्थाका प्रतिनिधि एवं अटिजम क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय