सुनसरी– मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित नेपालको ढल्केबरपछिको दोस्रो ठूलो ४०० केभीको सबस्टेसन उद्घाटन गरेका हुन् ।

इनरुवामा ४०० सय र २२० केभीका दुईवटा सबस्टेसन निर्माण गरिएको छ । राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाबाट ४०० केभीको सबस्टेसन निर्माण गरिएको हो । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियत ब्याजको ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनावाट २२०/१३२/३३ केभीको सबस्टेसन निर्माण गरिएको थियो । ४०० र २०० केभी सबस्टेसनको लागत करिब ३ अर्ब ८३ करोड रुपैयाँ छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने सबस्टेसनको उद्घाटनसँगै यस क्षेत्रको विद्युत् प्रसारण र वितरणको गुणस्तर तथा विश्वसनीयता बढाउने पृष्ठभूमि तयार भई सरकारको उज्यालो र समृद्ध नेपाल कार्यक्रम सफलताको यात्रामा नयाँ अध्याय पनि थपिएको बताए ।

देशमा केही नभएको भन्दै निराशाको मात्र खेती र चर्चा बढी हुने गरेको अवस्थामा यस्ता ठूला–ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले आशाको सञ्चार गराएको उल्लेख गर्दै प्रधामन्त्री प्रचण्डले सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने हुँदा यसबाट यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने विश्वास व्यक्त गर्नुभयो ।

‘प्रसारण लाइन निर्माणमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिकरणमा रहेको समस्या समाधानमा छिट्टै महत्त्वपूर्ण निर्णय गर्दैछौं, केही दिनभित्र सुकम्बासीलाई जग्गा वितरण गर्न र वन विकासविरोधी भएको मान्यतालाई अन्त्य गर्न केही ऐतिहासिक र महत्त्वपूर्ण निर्णय गदैछौं । मेरो कार्यकालको एक वर्ष पुरा भएको छ, अब विकासका र सुशासनका लागि धक्का दिएर काम गरिनेछ,’ उनले भने । ‘गत जेठमा मेरो भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले नेपालमा रहेको अपार जलविद्युत्को सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको छ, उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन छिट्टै नेपालमा भारतीय उच्च अधिकारीहरुको उपस्थितिमा अन्तिम सम्झौतामा हस्ताक्षर गर्दैछौं, यो नेपालको जलविद्युत् विकासमा अर्को महत्त्वपूर्ण र ऐतिहासिक खुड्किलो हुनेछ ।’

विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको स्वमरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यतिबेला सहरी क्षेत्रमा लोडसेडिङ थियो तर देशको आधाभन्दा बढी गाउँबस्तीहरु अँध्यारोमै थिए, अहिले करिब ९८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ, आगामी एक देखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने सुनौलो दिन अब छिट्टै आउँदै छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय