
चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो ।
तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि शनिबारदेखि दैनिक चार घण्टा सवारीसाधन रोकिएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोक्ने भनिए पनि सो समय तालिका परिवर्तन गरिएको हो । परिवर्तित समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक खण्ड बन्द गरिने भएको छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि सवारीसाधन नै रोकेर काम गर्न लागिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार चितवन र तनहँुतर्फका विभिन्न ६ स्थानमा सवारीसाधन रोकिनेछ ।
नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुबाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिनेछ भने मालबाहक सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म रोकिनेछ । काठमाडौंबाट आउने यात्रुबाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबलकारसम्म र मालबाहक सवारीसधान लेवाटारमा रोकिने उनले जानकारी दिए ।
यसैगरी पोखराबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म र मालबाहक सवारी साधनलाई सत्रसय फाँटमा रोकिनेछ ।
सूचना अधिकारी आचार्यका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिनेछ । गत वर्ष भित्तो काटिए पनि कडा चट्टानका कारण काम कठिन भएकाले विस्फोट गराउनका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी गर्दै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो ।
राजधानी काठमाडौंबाट तराईको जिल्ला बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले चार घण्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयले चार घण्टासम्म रोकिएका सवारीसाधन पठाउन लामो समयसम्म ट्राफिक जाम हुनसक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोे प्रयोग गर्न अनुरोध गरेको हो ।