मुग्लिन (चितवन)– चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हँुदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।

इच्छाकामना–२, तोवाङ र इच्छाकामना–१, भाराङमा चेपाङ घरबास सञ्चालनमा ल्याएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको हुग्दीखोलाबाट चितवनको इच्छाकामना–२, काउले तोवाङ, हात्तीवाङ, सिराइचुली, वडा नम्बर १ को भाराङ चौकीडाँडा र कालिका नगरपालिकाको शक्तिखोर हुँदै सौराहासम्मको पदमार्गमा आउने पर्यटकलाई लक्ष्य गरी चेपाङ घरबास सञ्चालन गर्न स्थानीयलाई सहयोग गरिएको जानकारी दिए ।

चेपाङ समुदायको आयस्तर वृद्धिका लागि थप घरबास सञ्चालन गर्न सपना भिलेजले आर्थिक सहयोग र तालिम उपलब्ध गराउने उनले बताए । उनले भने, ‘यहाँका चेपाङ समुदायको आयस्तर वृद्धिका लागि इच्छुकलाई घरबास सञ्चालन गर्न हामी आर्थिक सहयोग र तालिम प्रदान गर्नेर्छौं, विशेष गरी विदेशी पर्यटकको रहनसहनबारे जानकारी गराउने, पर्यटकलाई गर्ने व्यवहार, सरसफाइलगायतका बारेमा तालिम प्रदान गर्ने योजना छ ।’

रिक्सजा ट्राभल एजेन्सी नेदरल्यान्ड्सका प्रमुख मारियस एप्पलम्यानले हालै इच्छाकामना–२ तोवाङका तिलु चेपाङद्वारा सञ्चालित घरबास शुभारम्भ समेत गरेका छन् । सो अवसरमा उनले चेपाङ सुमदायको संस्कार, संस्कृति तथा जीवनयापनबारे जान्न पाउँदा निकै खुसी लागेको सुनाए । साथै उनले यो पदमार्ग नेपालकै उत्कृष्ट बन्न सक्ने सम्भावना भएको बताए ।

एप्पलम्यानले भने, ‘यो पदमार्ग नेपालकै उत्कृष्ट बन्ने सम्भावना छ, यहाँको चेपाङ सुमदायको रहनसहन संस्कार, संस्कृतिबारे जान्न र बुझ्न पनि पाइन्छ ।”

घरबास सञ्चालक तिलुले घरबास सञ्चालन गर्ने आफ्नो इच्छा पूरा गरिदिएकामा सपना भिलेजलाई धन्यवाद दिए । सो संस्थाले यस पदमार्गको सम्भाव्यताबारे अध्ययन गर्न गत वर्ष पनि रिक्सजा ट्राभल एजेन्सी न्यादरल्यान्ड्सका प्रमुख एप्पलम्यानलाई भ्रमण गराएको थियो । यस पदमार्गको दुई रात तीन दिनको रहेको संस्थाका अध्यक्ष गिरीले जानकारी दिए । नेदरलयान्ड्ससहित जर्मनी, अमेरिका, फ्रान्सलगायत देशका पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्गको प्रचारप्रसारमा लागेको उनले बताए ।

उनले भने, ‘पर्यटकको आवागमन बढेसँगै यहाँका चेपाङ समुदायको आयस्तर वृद्धि हुनेछ ।’ सपना भिलेजले चितवनको चेपाङ समुदायको उत्थानका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा काम गरिरहेको सपना भिलेजले पर्यटनमार्फत ती समुदायको आयस्तर वृद्धि गर्ने लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय