
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली (मंगलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन् ।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको दाबी सरकारको छ ।
भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उनले सम्बोधन गर्न लागेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक न्यायका लागि गरेका कामको जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको बताइरहँदा आम जनता भने झन्झन् निराश बन्दै गएको पाइन्छ । सरकारले भ्रष्टाचार नियन्त्रण गरेको दाबी गरिरहँदा सरकारी कर्मचारीले खलेआम घुस माग्न थालेका छन् ।