काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली लिएबापतको बक्यौता नतिर्ने सबै उद्योगको लाइन क्रमशः काट्दै जाने बताएका छन् ।

डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली लिएबापतको अतिरिक्त महसुल नतिरेका उद्योगको बिजुली काटेपछि उत्पनन विवादबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले मंसिर २०८० सम्म डेडिकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली उपभोग गरेका ६१ उपभोक्ताको २२ अर्ब २४ करोड बक्यौता रहेको जानकारी दिए ।

उनले यसमध्ये अहिलेसम्म ९ वटा उद्योगको मात्र लाइन काटिएको र उनीहरुको बक्यौता १२ अर्ब ५० करोड रुपैयाँ रहेको बताए । बक्यौता नतिर्ने अन्य उद्योगको लाइन पनि क्रमशः काट्दै जाने उनको भनाइ छ ।

घिसिङले डेडेकेटेड फिडर र ट्रंक लाइनबाट बिजुली उपभोग गरेका उपभोक्ताको विषयमा आफूले कुनै तथ्यांक नलुकाएको दाबी गरे । ‘सबै तथ्यांक उपलब्ध गराउन प्राधिकरण तयार छ,’ पत्रकार सम्मेलनमा उनले भने । यस्तो बिजुली लिने २३९ मध्ये १७८ ग्राहकले प्रिमियमसहितको विद्युत् महसुल समयमै भुक्तानी गरिसकेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार २०८० को मंसिर मसान्तसम्ममा ६१ वटा उद्योगले तिर्न बाँकी महसुल २२ अर्ब २४ करोड ५७ लाख ७७ हजार पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय