काठमाडौं– उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र विक्रीवितरण गर्न रोक लगाएको छ । उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले वाईवाईको ट्रेडमार्क नक्कल गरी वाईवाई जस्तै देखिने र्यापर प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने काम गरेको भन्दै वाईवाई उत्पादक सिजी फुड्सले अदालतमा रिट दायर गरेको थियो ।

उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको हो ।

सिजी फुड्ले यशोदामाथि चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले वाईवाईको ट्रेडमार्क नक्कल गरेको आरोप लगाएको छ ।

यशोदा फुड्सले वाईवाईको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोसिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ ।

अदालतको यस आदेशले वाईवाईको नक्कल गरी बजारमा पठाईएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा विक्रीवितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय