नेपालगञ्ज– सेयर बजार उकालो लाग्ने सम्भावना देखिएपछि मोफसलमा रहेका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्न थालेको छ । ब्रोकर खाता र डिम्याट खाता खोल्न, शेयर कारोबार गर्न र शेयरका विभिन्न विषयमा जानकारी लिन उनीहरूको भीड बढेको इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (४५) नं ब्रोकर कार्यालयले जनाएको छ ।

विभिन्न कलेजमा अध्ययन गर्ने बाँके जिल्ला व्यवस्थापन सङ्कायका विद्यार्थी, गृहिणी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, व्यवसायी तथा व्यापारीको शेयर बजारप्रति आकर्षण बढ्न थालेको हो । ‘पछिल्लो समय भीडभाड बढ्दै जान थालेको छ,’ उक्त कार्यालयका प्रमुख उदय अधिकारीले भने ।

बुलिस टाइममा प्राथमिक बजार (आइपिओ) निष्कासन हुँदा त्यसले बजारमा सकारात्मक प्रभाव पार्ने तर्क गर्दै प्रमुख अधिकारीले विगतमा आइपिओले बजारलाई प्रभावित गरेकोे टिप्पणी गरे । अहिले पनि प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि नयाँ लगानीकर्ता प्रवेश गर्न थालेका छन् । यस क्षेत्रको सो ब्रोकर कार्यालयमा शेयर बजारमा लगानी गर्न बाँकेबाहेक, बर्दिया, सुर्खेत, जाजरकोट, रोल्पा, रुकुम, हुम्ला, जुम्ला, सल्यानलगायत जिल्लाबाट लगानीकर्ता नेपालगञ्ज आउने गरेका छन् ।

नेपालगञ्जका पुराना लगानीकर्ता विकास भट्टराईले बजार बुलिस हुने सम्भावना बलियो भएकाले ब्रोकर कार्यालयमा चहलपहल बढ्न थालेको उल्लेख गर्दै लगानीकर्तालाई बलियो कम्पनीमा लगानी गर्न सुझाए । उनले शेयर बजारमा ट्रेड गर्ने ट्रेडरले प्राविधिक पक्ष हेरेर मात्रै छोटो अवधिका लागि लगानी गर्ने र त्यसबाट नाफा लिने जानकारी दिँदै बजारका लागि सबै माहोल सकारात्मक बनेको बताए ।

भरोसा म्यानेजमेन्ट कन्सल्टेसीका प्रमोटरसमेत रहेका भट्टराईले शेयर बजार जोखिमको क्षेत्र भएकाले स्वअध्ययन गरेर मात्रै बलियो कम्पनीमा लगानी गर्नुपर्ने सुझाए । लगानीकर्ता पारस तिमिल्सिनाले बजारमा अहिले पनि पर्ख र हेरको नीति भएको औंल्याउँदै सानो आकारमा लगानी बढाइएको बताए । करिब ३५ हजार शेयर कारोबार गर्ने लगानीकर्ता भएको एम्पेरियलमा २७ हजार सक्रिय शेयर कारोबार भएको बताइएको छ । यसबाहेक कालिका सेक्युरिटिज प्रालिले पनि नेपालगञ्जमा शेयर कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय