काठमाडौं– ऊर्जा क्षेत्रका समग्र विषयमा साझा दृष्टिकोण बनाउने उद्देश्यका साथ नेपाल र भारतबीचको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११औं बैठक चितवनमा सुरु भएको छ ।

चितवनको मेघौलीस्थित एक होटलमा दिउँसो २ बजेदेखि बैठक सुरु हुने कार्यक्रम तय भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जासचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जासचिव पंकज अग्रवालले सहअध्यक्षता गर्नेछन् ।

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहका अनुसार दुई देशका ऊर्जासम्बन्धी विविध विषयमा छलफल र सहमतिको प्रयास हुनेछ । भारतीय विदेशमन्त्री डा एस जयशंकरको नेपाल भ्रमणको अवसर पारेर तय गरिएको संयुक्त निर्देशक समितिका बैठकको कार्यसूची सहसचिवस्तरीय संयुक्त कार्यदलले यही बुधबार तय गरेका थिए ।

हाल सञ्चालनमा रहेको ढल्केबर– मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गर्ने विषयमा पनि दुई देशका उच्च अधिकारीबीच सहमति भएको छ । विसं २०७९ फागुनमा भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले सो प्रसारण लाइनबाट आठ सय मेगावाट बिजुली आयात–निर्यात गर्नसक्ने सहमति गरेका थिए ।

सो प्रसारण लाइनको क्षमता एक हजार मेगावाट बराबर बनाउने र पूर्णरुपमा उपयोग गर्ने विषयमा दुई देशका अधिकारीबीच सहमति भएको हो ।

त्यस्तै हाल सञ्चालनमा रहेको टनकपुर–महेन्द्रनगर प्रसारण लाइनको क्षमता उपयोगका विषयमा समेत दुई देशका अधिकारी सहमत भएका छन । उक्त प्रसारण लाइनको क्षमता एक सय ३२ केभी छ । नेपाल विद्युत् प्राधिकरणले त्यस प्रसारण लाइनबाट ८० मेगावाट बिजुली आयात गर्दै आएको छ । संयुक्त प्राविधिक टोलीले सो प्रसारण लाइनको उपयोग गरेर दुई सय मेगावाट बराबरको बिजुली आदानप्रदानका लागि सम्भाव्य विकल्प प्रस्तुत गरेका थिए ।

त्यसमा प्राविधिकरुपमा हाल सञ्चालनमा रहेको प्रसारण लाइनबाट थप बिजुली आयात निर्यात गर्न सकिने सम्भाव्य विकल्प खोजिनेछ । चार सय केभी क्षमताको अर्कोे प्रसारण लाइन बनाउने विषयमा संयुक्त प्राविधिक समूहले अध्ययन गर्ने सहमति भएको छ ।

यसैगरी नेपाल–भारत सीमा क्षेत्रमा रहेका अन्य एक सय ३२ केभी क्षमताका प्रसारण लाइनको क्षमता वृद्धि गरेर तथा बिजुली आदानप्रदानका लागि सहज बनाइने विषय पनि बैठकको कार्यसूचीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय