काठमाडौं– विश्वव्यापार संगठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा आजदेखि यहाँ दुईदिने ‘डब्लुसिपी नेपाल–एआइबी साउथ एसिया कन्फ्रेन्स, २०२४’ सुरु भएको छ ।

विश्व व्यापारमा दक्षिण एसियाको प्रतिस्पर्धीपन, आपूर्ति शृंखला र वातावरणीय तथा सामाजिक पक्ष (ग्लोबल ट्रेड एन्ड साउथ एसिया : कम्पिटेटिभनेस, भ्यालु चेन एन्ड इएसजी) विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक अच्युत वाग्लेले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको सन्दर्भमा नेपालले फरकखालको वाणिज्य नीति अवलम्बन गरिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

नेपालले विश्वबजारमा प्रतिस्पर्धाका लागि अग्र र पृष्ठपोषणसहितको वस्तु उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ । एआइबी–एसएसी एक्जुकेटिभ बोर्डका अध्यक्ष प्राध्यापक एस रघुनाथले दक्षिण एसियाली मुलुकको वैदेशिक व्यापारसँग सम्बन्धित नीतिनिर्माणमा यस सम्मेलनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सहज आपूर्ति शृंखला निर्माण गर्न विश्वव्यापीरुपमा एकअर्कादेशबीच अन्तरनिर्भरता रहेको भन्दै उनले सबैको समान सहभागिता र योगदान आवश्यक रहने उल्लेख गरे । स्थानीयस्तरको उत्पादन प्रवद्र्धनमा नवप्रवर्तन तथा बौद्धिक अधिकारको अधिकतम प्रयोगमा उनले जोड दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालको वैदेशिक व्यापारलाई सन्तुलितरुपमा अगाडि बढाउन देखिएको नीतिगत खाडललाई पुर्नका लागि अनुसन्धानकर्ता तथा अध्येताबाट आउने सुझावलाई सरकारले सकारात्मकरुपमा लिने र आवश्यकताअनुसार ती सुझाव कार्यान्वयनका लागि पहलसमेत गर्ने बताए ।

प्रभावकारी नीतिनिर्माणका लागि विभिन्न क्षेत्रको विज्ञता आवश्यक पर्ने सचिव दुवाडीको भनाइ छ । विश्वव्यापी आपूर्ति शृंखला निर्माण तथा नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिपस्पर्धी बनाउन आवश्यक नीतिगत, संरचनागत र कार्यान्वयन तहमा देखिएका समस्या समाधानको आवश्यकता उनले औंल्याए ।

नेपालले अतिकम विकसित मुलुकबाट स्तरोन्नति पछि व्यापार क्षेत्रमा गुमाउने विभिन्न सुविधाको व्यवस्थापनका लागि रणनीतिकरुपमा काम गरिरहेको सचिव दुवाडीको भनाइ थियो । दीगो विकास लक्ष्यप्राप्तिका लागि आन्तरिक उत्पादकत्व बढाएर प्रतिस्पर्धी बजार निर्माण गरिनुपर्ने उनको जोड छ ।

संयुक्त राष्ट्रसंघको जेनेभास्थित स्थायी नियोगका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीले वैदेशिक व्यापार विकास र समृद्धिको इञ्जिन रहेको उल्लेख गर्दै दक्षिण एसिया विश्वबजारको ठूलो हिस्सा रहेको बताए । नेपाललगायत देशले बेहोरिरहेको उच्च व्यापार घाटाको समस्या समाधानका लागि उत्पादन र बजारको विविधीकरण गरिनुपर्नेमा उनको जोड छ ।

दक्षिण एसियाका नेपाल र बंगलादेश अतिकम विकसित मुलुकबाट सँगसँगै स्तरोन्नत भइरहेकामा स्तरोन्नति पछि पनि व्यापारका क्षेत्रमा अहिले पाइरहेका शून्य भन्सारलगायत सुविधा (ड्युटी फ्रि, कोटा फ्री) को निरन्तरताका लागि संयुक्त राष्ट्रसंघमा विभिन्न तहको छलफल भइरहेको राजदूत सुवेदीले बताए । पुँजी निर्माण गर्नसके आयात व्यवस्थापनमा सहज हुने उनले बताए ।

सुवेदीले नेपालको वाणिज्य नीतिलाई समयसापेक्ष बनाउनुपर्ने आवश्यकता औंल्याए । विश्वव्यापार संगठन (डल्बुटिओ)का सह–महाप्रबन्धक सियाङचेन झाङले विश्वव्यापारमा सहजीकरणका लागि विभिन्न क्षेत्र र तहसँग क्षमता विकासका लागि काम भइरहेको बताए । पछिल्लो समय विश्व व्यापारको परिदृश्यमा परिवर्तन भइरहेको सन्दर्भलाई जोड्दै उनले अतिकम विकसित मुलुकको व्यापारसँग सम्बन्धित सुविधाको निरन्तरताका लागि पहल गरिनेसमेत प्रतिबद्धता जनाए ।

जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणसँग सम्बन्धित मुद्दालाई विश्वसमुदायले नै गम्भीरताका साथ लिनुपर्ने पनि उनको भनाइ छ ।

काठमाडौं विश्वविद्यालका उपकुलपति प्राध्यापक डा भोला थापाले क्षेत्रीयस्तर र विश्वबजारमा समेत व्यापारका आयाम परिवर्तन भइरहेको र त्यसले नेपालजस्ता आयातमा निर्भर र सानो अर्थतन्त्र भएका मुलुक बढी प्रभावित भइरहेको उल्लेख गरे ।

यस्तो समस्या समाधानका लागि सबैको प्रयास आवश्यक रहेको उनको भनाइ छ । न्यून उत्पादनका कारण नेपालको निर्यात पक्ष निकै कमजोर रहेको तथा नेपालले डब्लुटिओका सुविधाको पर्याप्त लाभ लिन नसकेको थापाले बताए । अनुसन्धान र आपसी छलफलले राम्रो नीति निर्माणका लागि योगदान गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

भारतीय विदेश व्यापार संस्थान, कोलकात्ता क्याम्पसका प्रमुख प्राध्यापक के रंगराजनले दक्षिण एसिया क्षेत्रमा उच्च जनसांख्यिक लाभ रहे पनि व्यापारका क्षेत्रमा उचित लाभ लिन नसकेको बताए ।

दक्षिण एसियाले क्षेत्रीय र विश्व व्यापारमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्दैै नवीनतम् प्रविधिको उच्चतम प्रयोगबाट यस क्षेत्रका उत्पादनलाई विश्वबजारमा पु¥याउन सकिने सम्भावनालाई गम्भीरताका लागि लिनुपर्ने उनको भनाइ छ ।

एसोसिएसन अफ इन्डियन युनिभर्सिटीजको महासचिव डा पंकज मित्तलले शैक्षिक अध्ययनका विभिन्न कार्यक्रमका माध्यमबाट अन्तरदेशीय आबद्धता कायम गर्न सकिने बताए । सम्मेलनमा विभिन्न सात देशका ६० भन्दा धेरै विज्ञ, अनुसन्धानदाता, प्राज्ञिक व्यक्तित्वको सहभागिता छ । दुईदिने सम्मेलनमा विभिन्न विषयमा शोधपत्र प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय