काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापार घाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् । झापा चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले विद्यमान व्यापार घाटा कम गर्न कृषि एवं खानीजन्य वस्तुको पहिचान एवं प्रर्वद्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् ।

चालु आर्थिक वर्षको ५ महिनामा नै व्यापार घाटा ५ खर्ब ९७ अर्ब रुपैयाँ नाघेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापारघाटा बजेट कै हाराहारीमा हुन थालेको बताए ।

उनले भने, ‘आर्थिक समृद्धि र विकासको बाधक मुलुकको चरम व्यापार घाटा पनि हो, आन्तरिक उत्पादन नहुँदा कृषिजन्य वस्तुहरुमा समेत परनिर्भरता बढ्दो क्रममा छ, सम्भावना भएका क्षेत्रहरुको पहिचान गरी निर्यात सहजीकरण गरिनुपर्दछ, ।’
निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत्, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।

निर्यातयोग्य वस्तुको पहिचान र प्रवर्द्धनसम्बन्धी ठोस नीतिगत व्यवस्थाका लागि नेपाल चेम्बर अफ कमर्सले पनि पहल गरिरहेको उनले बताए । सरकारले निर्यात वृद्धिका लागि विभिन्न नीति अघि सारे पनि व्यावहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए । झापा, इलाम, तेह्रथुम लगायत जिल्लामा चिया, अलैंची लगायत वस्तु निर्यात गरेर अर्बौं रुपैया भित्र्याउन सकिने अध्यक्ष मल्लको भनाइ छ ।

यसैबीच झापा चेम्बरको छैठौं साधारणसभाले ओमकृष्ण विमलीलाई अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय