![](http://arthikpage.com/wp-content/uploads/2022/06/photoless-444wwww.jpg)
मनाङ– हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै एक सय ३५ मेगावट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय भएको आयोजनाका प्रबन्धक प्रतीक महर्जनले जानकारी दिए । यसका साथै आयोजना निर्माणका लागि वन क्षेत्रमा पर्ने १ हजार ८ सय ३९ रुख काट्न र पोल हटाउन स्वीकृति पाएको उनले बताए ।
मन्त्रिपरिषद्को बैठकबाट आयोजना निर्माणस्थलमा भएका रुख काट्न र पोल हटाउन स्वीकृति दिने निर्णय भएसँगै प्रशासनिक र कानुनी तवरबाट जग्गा प्राप्तिको कामलाई प्राथमिकता दिएको उनले बताए ।
मनाङमा पहिलो पटक आयोजना निर्माण गर्न लागिएको आयोजनाका लागि एक्यापको वन क्षेत्रमध्ये ३३.४७ हेक्टर क्षेत्रलफलमा निर्माण हुने आयोजनाका सहायक प्रबन्धक राजकुमार बरालले बताए । उनका अनुसार आयोजना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रको राष्ट्रिय वनको उक्त क्षेत्रमा आयोजना निर्माण हुनेछ ।
उनले भने, ‘प्रशासनिक काम गरिरहेका छौं । कम्तीमा ३–४ महिनापछि आयोजनाको संरचना निर्माण गर्ने लक्ष्य लिइएको छ ।’
आयोजना निर्माणका लागि मनाङको सदरमुकामस्थित चामे गाउँपालिकाको १, २, ३ र ५ र नासों गाउँपालिकाको ८ र ९ नम्बर वडामा जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइएको आयोजनाका प्रबन्धक एवं बुटवल पावर कम्पनीका प्रबन्धक महर्जनले बताए । उनले भने, ‘मन्त्रिपरिषदबाट स्वीकृति पाएका छौं । अब हाम्रो कम्पनीको नाममा सार्नका लागि आवश्यक काम भइरहेको छ ।’ वन क्षेत्रको जग्गा २५ वर्षसम्म आयोजनाले उपयोग गर्न पाउने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको विकासको लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच विसं २०७९ पुस ३ गते सम्झौता भएको थियो । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको महर्जनले बताए ।
आयोजनामा नेपाली साझेदार बिपिसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआईजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेसनलले संयुक्त रुपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको जनाएको छ ।
आयोजनाको कूल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकबाट ऋण उपलब्ध गराउने सम्झौता भएको उहाँले बताउनुभयो । आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु एक अर्ब ३३ करोड स्वपुँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ ।
१३५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना पिकिङ रन अफ दि रिभर प्रकृतिको हुनेछ । जसबाट वार्षिक ७६६.५९३ गिगावाट आवरमा विद्युत् उत्पादन हुने महर्जनले जानकारी दिए । सम्भाव्यता अध्ययनका अनुसार यस आयोजनाको ग्रस हेड ४३०.२० मिटर र हेडरेस टनेल ६.०७५ किलोमिटर छ । आयोजनामा २० प्रतिशत बिपिसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहनेछ ।