काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुंगेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ ।

झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि संखुवासभाको वसन्तपुर हुँदै ढुंगेसाँघुसम्मको कोशी करिडोर २२० केभी प्रसारण लाइनलाई एक आपसमा आवद्ध गर्न अमरपुर–ढुंगेसाँघु लाइन निर्माण सुरु गरिएको हो । कोशी करिडोरअन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली करिडोर सञ्चालनमा छ ।

हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दालगायतको उपस्थितिमा सोमबार अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारण लाइनको टावर निर्माण शिलान्यास गरिएको छ । करिब १९ किलोमिटर प्रसारण लाइनमा ६७ वटा टावर निर्माण गर्नु पर्नेछ । उक्त प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ ।

काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरुको बिजुलीलाई विश्वसनीय तथा प्रभावकारी रुपमा प्रवाह गर्न अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारण लाइन सुरु गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए ।

आयोजना प्रमुख गौतमकाअनुसार, कोशी र काबेली करिडोर प्रसारण लाइन एक आपसमा आबद्ध हुने भएकाले कुनै कारणले काबेली करिडोरमा समस्या आएमा उक्त लाइनमा जोडिएको विद्युत् कोशी करिडोरतर्फ पठाउन सकिन्छ ।

यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रिडको विश्वसनीयता बढ्नुका साथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्ने छ । तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ ।

नेपाल सरकारको करिब १ अर्ब २० करोड लगानीमा आर्थिक वर्ष २०७५–७६ मा आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ सालमा ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत अमरपुर तथा ढुंगेसाँघु सबस्टेसनमा दुई–दुईवटा लाइन बे निर्माण गरिने छ ।

यसका अतिरिक्त स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ढुंगेसाँघु सबस्टेसनमा ११ केभीका संरचना निर्माण गरिने छ । लाइन बे र ११ केभीका संरचना बनाउन चालू आर्थिक वर्षमा ठेक्का लगाइने छ । आयोजनाअन्तर्गतका सम्पूर्ण कामहरु आर्थिक वर्ष २०८१–८२ मा सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय