काठमाडौं– वाणिज्य बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदा निक्षेपको ब्याजदर थप घटेको छ । अधिकांश वाणिज्य बैंकहरुले माघको तुलनामा फागुनको ब्याजदर घटाएका छन् ।

अब व्यक्तिगत निक्षेपकर्ताले वाणिज्य बैंकको मुद्दती निक्षेपमा अधिकतम साढे ८ प्रतिशत ब्याज पाउनेछन् । माघमा मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.१५ प्रतिशतसम्म थियो ।

फागुनको लागि सबैभन्दा बढी ब्याजदर तोकेको एनएमबि बैंकले व्यक्तिगत मुद्दतीमा वार्षिक ८.५ प्रतिशतका दरले ब्याज दिनेछ । फागुनका लागि सबैभन्दा कम ब्याजदर तोकेको कृषि विकास बैंकले मुद्दती खातामा अधिकतम वार्षिक ६.४४३ प्रतिशतका दरले ब्याज दिनेछ ।

माघको तुलनामा फागुनमा वाणिज्य बैंकको औसत ब्याजदर ०.४ प्रतिशत बिन्दुले घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बैंकहरूले ०.०६ प्रतिशतदेखि न्यूनतम ०.८१ प्रतिशतसम्म घटाएका छन् ।

लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेस्ट बैंकले माघ कै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । यी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशतलाई यथावत राखेका हुन् ।

हिमालयन बैंकको भने माघ र फागुन दुवै महिना व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.१५ प्रतिशत कायम राखेको छ ।

राष्ट्रिय वाणिज्य र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपका लागि अधिकतम ब्याजदर ७.३५ प्रतिशत तोकेका छन् ।

पुँजी कोषको कारण अझै पनि तरलतामा चाप परेका बैंकहरुले फागुनमा पनि माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बैंकहरूले हरेक महिना साविकको तुलनामा १० प्रतिशत बिन्दुले ब्याजदर तलमाथि गर्न पाउँछन् । वाणिज्य बैंकहरुमा अहिले ५ खर्ब रुपैयाँ हाराहारी लगानीयोग्य रकम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय