काठमाडौं– काठमाडौं महानगरपालिकाले वसन्तपुर क्षेत्रका अनधिकृत व्यापार हटाउन पुरातत्व विभागलाई पत्राचार गरेको छ ।
वसन्तपुरको वारुणयन्त्र कार्यालयबाट उत्तरतर्फको भवन र तलेजु भवानी मन्दिर नजिकैको भवनका अनधिकृत व्यापार हटाएर सात दिनभित्र जानकारी गराउन कामपाले विभागलाई पत्र पठाएको हो ।
‘वसन्तपुरसहित काठमाडौंका विश्व सम्पदा क्षेत्रको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्व जोगाउनु विभागको पनि दायित्व हो,’ पत्रमा भनिएको छ ।
वसन्तपुर क्षेत्रमा विभागले हेर्नुपर्ने स्थान भोगचलन गरी भवनमा पुरातात्विक महत्त्वविपरीत व्यापारिक प्रयोजनमा ल्याइएको जनगुनासो आएपछि कामपाले विभागलाई पत्र पठाएको जनाएको छ ।
पत्रमा भनिएको छ, ‘तोकिएको समयमा विभागले पसल हटाउने कार्य नगरे कामपाले नै हटाउने छ,’ कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४, कामपाको भवन निर्माण मापदण्ड २०७५ र प्राचीन स्मारक ऐन २०१३ समेतका कानूनी व्यवस्थाबमोजिम वसन्तपुर क्षेत्रका प्राचीन संरक्षण, मर्मत र जीर्णोद्धार गर्नुका साथै उक्त क्षेत्रमा सञ्चालित अनधिकृत व्यापार–व्यवसाय हटाउनु यस कार्यालयको प्राथमिक योजनाभित्र पर्दछ ।
यही फागुन १४ गते कामपाको सम्पदा तथा पर्यटन विभागले पत्र पठाएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्यले पनि तीव्रता पाएको छ ।
अहिलेसम्ममा यस क्षेत्रका २७ सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
यहाँ विश्व सम्पदा क्षेत्रमा सूचीकृत रहेका ७० सम्पदा छन् जसमध्ये १२ वटामा भूकम्पले क्षति नै भएको थिएन । अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम सुरु गर्नु नहुने भएकाले २० सम्पदाको काम अझै हुनसकेको छैन ।
हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनःनिर्माण भइरहेको छ । दरबारको ६० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनःनिर्माणमा केही ढिलाइ भएको छ ।
नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ । यसअघि गद्दी बैठक अमेरिकाको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको छ ।