बेइजिङ– चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । सेयर बजारमा उछाल आउँदा चीनमा अर्बपतिको संख्या बढेको हो ।

विश्वका धनाढ्यबारे अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मंगलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बर पुगेको उल्लेख छ । विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पछिल्ला केही वर्षदेखि विकासमा तीव्र गतिमा फड्को मारेको छ ।

विश्वका अधिकांश मुलुकमा कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा गम्भीर असर पारे पनि चीनले कोरोना भाइरसलाई समयमै नाटकीय रुपमा नियन्त्रण गरेपछि सन् २०२० मा पनि राम्रो प्रगति गरेको छ ।

हुरुनका अनुसार सन् २०२० मा २५९ जना अर्ब डलर सम्पत्ति हुनेको सूचीमा प्रवेश गरेका छन् । चीनमा यो सहित कुल अर्बपतिको संख्या १ हजार ५८ पुगेको छ । विश्वमै हजारभन्दा बढी डलर अर्बपति हुने चीन पहिलो मुलुक भएको छ ।

तुलनात्मक रुपमा, दोस्रो राम्रो प्रगति गर्ने मुलुक अमेरिकामा ७० जना नयाँ अर्बपतिको उदय भएको छ । यो सहित अमेरिकामा कुल अर्बपतिको संख्या ६९६ पुगेको छ ।

चीनमा पानीको व्यापार गर्ने नोङ्फुका संस्थापक झोङ सानसानको सम्पत्ति ८५ अर्ब डलर पुगेको छ । विगतमा निर्माण कार्यमा संलग्न झोङले गत वर्ष हङकङमा प्राथमिक सेयर (आइपिओ) जारी गरेर ११ अर्ब डलर नगद संकलन गरेका थिए ।

एकै वर्ष तीन व्यक्तिले ५० अर्ब डलरभन्दा बढी सम्पत्ति जुटाएका छन् । सर्भेका अनुसार टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस र पिन्डुओडुका कोलिन हुआङको सम्पत्ति ५० अर्ब डलरले बढेको छ ।

समग्रमा, चीनले विश्वमै सम्पत्ति सिर्जना गर्नेतर्फ अग्रस्थान बनाइरहेको छ । हुरुनका अनुसार विगत पाँच वर्षको अवधिमा चीनले ४९० जना र अमेरिकाले १६० जना नयाँ अर्बपति जन्माएको छ ।

हुरुन प्रतिवेदनका अध्यक्ष रुपर्ट हुगवर्फले कोरोनाभाइरसको महामारी भए पनि गत वर्ष एक केही व्यक्ति बढी आम्दानी गर्न सफल भएको बताए । यसको मुख्य कारण सेयर बजारमा नयाँ कम्पनीको सूचीकरण र सेयर बजारमा आएको उछाल मुख्य रुपमा जिम्मेवार छ ।

सबैभन्दा बढी अर्बपति पनि अहिले चिनियाँ सहरमा रहेको सर्भेले देखाएको छ । अर्बपति रहेबसेका विश्वका उत्कृष्ट १० सहरमध्ये ६ वटा सहर चीनमै छन् । विगत ६ वर्षदेखि लगातार बेइजिङ पहिलो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय