काठमाडौं– नेपाल खुला विश्वविद्यालयका प्राडा अरहन स्थापितले नेपालको अर्थतन्त्र पंचर अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिटमा ‘दक्ष जनशक्ति पलायन सहकारी क्षेत्रमा यसको प्रभाव र निराकरण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै स्थापितले पंचर अवस्थामा रहेको अर्थतन्त्रलाई टाल्ने काम रेमिट्यान्सले गरेको बताए ।

‘अहिले नेपालीमा दक्ष जनशक्ति कम हुँदै गएको छ । अवसरको खोजीमा विदेश पलायन हुने क्रम निरन्तर बढेको छ । आर्थिक रुपमा उतारचढाव छ । मुलुकमा आर्थिक, राजनीतिक स्थायित्व नभएसम्म नेपालको दक्ष जनशक्ति अवसरको खोजीमा बिदेसिन्छ । यसलाई नकारात्मक ठान्न हुँदैनm,’ उनले भने, ‘रेमिट्यान्सबाट धानिएको अर्थतन्त्रलाई सकारात्मक मान्न हुँदैन । यो दिगो समाधान होइन । कमजोर अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न नेपालमै अवसर निर्माण गर्नुपर्छ ।’

नेपालमा दक्ष जनशक्ति आकर्षित नहुनु राजनीतिमा भाइ भतिजावाद तथा भ्रष्टाचार, रोजगारीको सीमित अवसर र घट्दो कृषि उत्पादन नै मुख्य रहेका स्थापितले बताए । अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा दक्ष जनशक्तिको अभाव नै मुख्य कारक रहेको उनको बुझाइ छ । सहकारी संस्थामा अन्धाधुन्द लगानी हुँदा समस्या आएकाले अनुसन्धान र विश्लेषण गरेर मात्र परियोजना कार्यान्वयन गर्नुपर्ने उनको सुझाव छ ।

त्यसैगरी सरोकारवालासँगको गहन छलफलबिनै नीति निर्माण, अनुपालनाप्रतिको बेवास्ता पनि अहिलेको समस्या रहेको उनले बताए । सहकारीलाई पार्टटाइम जागिरको रुपमा लिएको र सहकारीप्रति नकारात्मक सूचना प्रवाह हुँदा दक्ष जनशक्ति आकर्षित नभएको उनले बताए । त्यसका साथै सहकारीमा जनशक्तिको आकषर्ण कम हुनुमा सीमित वृत्ति विकास, न्यून तलब, आकर्षक सुविधाको अभाव, अस्थिरता र जोखिमको धारणा जस्ता कुरा मुख्य रहेको उनले औंल्याए । स्थानीय स्रोत साधन र प्रविधिको प्रयोग गरी नयाँ उद्योग सञ्चालन गर्न सके सहकारीले लगानी वृद्धि गर्नुका साथै रोजगारी सिर्जना र सदस्यता समेत वृद्धि हुँदै जाने उनको बुझाइ छ । सहकारीमा दक्ष जनशक्तिका लागि सिटिइभिटी र विश्वद्यियालयसँगको सहकार्यमा अघि बढ्न उनले सुझाए ।

उक्त प्रस्तुतिमा टिप्पणी गर्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारीमा कर्मचारी छनोट गर्दा नै ध्यान पुर्याउनु पर्ने बताए । भनसुन र पहँुचका आधारमा कर्मचारी नियुक्ति गरियो भने त्यसको विश्वसनीयता नहुने उनले बताए । कर्मचारी छनोटमा निष्पक्ष र पारदर्शितालाई परिपालना गर्न पनि उनले आग्रह गरे । कर्मचारीको वृद्धि विकासका साथै सेवा सुविधा, निवृत्तिभरण एवं जीवन यापनलाई पनि ध्यान पुर्याउनु पर्ने गुरागाईले बताए ।

कार्यक्रमको अध्यक्षता गर्दै नेफ्स्कूनका पूर्वअध्यक्ष ऋषिराज घिमिरेले सहकारीमा दक्ष जनशक्ति आवश्यक रहेका औंल्याए । जनशक्तिबिना कुनै पनि संघसंस्थाले उत्कृट सेवा दिन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय