
काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले हवाई इन्धन (एयर टर्बाइन फ्युल)को मूल्य प्रतिलिटर पाँच रुपैयाँका दरले बढाएसँगै वायुसेवा सञ्चालकहरुले हवाई भाडा बढाएका छन् ।
उनीहरुले तेलको मूल्य घटबढ हुँदा सोही अनुसार भाडा समायोजन गर्ने सहमति अनुसार फागुन २१ बाट हवाई भाडामा लाग्ने फ्युल चार्ज बढाएका हुन् । निगमले फागुन १७ गते पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको थियो ।
वायुसेवा सञ्चालक संघ, नेपालका अनुसार अब सबैभन्दा बढी काठमाडौं–धनगढी रुटको भाडा बढ्ने छ । संघका अनुसार यस रुटको फ्युल चार्ज २२० रुपैयाँले बढ्नेछ । सबैभन्दा कम डोटी–साँफेबगरको भाडा २० रुपैयाँले बढ्ने छ ।