काठमाडौं– एसियन मिडिया कल्चरल एसोसिएसन (एएमसीए) को टोली नेपाल भ्रमणमा छ । भ्रमण अवधिमा टोलीले अन्तरदेशीय पत्रकारिताका अभ्यास, सम्बन्ध र अनुभव साटासाट गरेको बताइएको छ । बिहीबार एमएमसीएको टोलीले मिडिया अध्ययन गराउँदै आएको काठामाडौंस्थित सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीका विद्यार्थी तथा फ्याकल्टीसँग अन्तरक्रिया गरेको छ ।
श्रीलंका र भारतका अनुभवी पत्रकार सम्मिलित उक्त टोलीले भ्रमणको उद्देश्य, नेपाल तथा भारत र श्रीलंकामा भएका पत्रकारिताका अभ्यासबारे छलफल भएको कलेजकी प्रिन्सिपल कविता शर्माले जानकारी दिइन् ।
कार्यक्रममा पत्रकारिता अध्ययनरत विद्यार्थीहरूले भारत र श्रीलंकाका पत्रकारले भोग्दै आएका समस्या लगायत विषयवस्तुमा जिज्ञासा राखेका थिए । भ्रमण टोलीका सदस्यहरूले नेपालको पत्रकारितासँग भारत र श्रीलंकाको पत्रकारितामा केही समानता र फरक रहेको बताएका थिए । राज्यको नीति र व्यवसायिक सुरक्षाका दृष्टिले सबैतिरका पत्रकारको अवस्था एउटै रहेको उनीहरूको निष्कर्ष थियो ।
एएमसीए नेपाल च्याप्टरकी कोअर्डिनेटर सम्झना पौडेलले हरेक वर्ष आफ्नो देशमा ‘मिडिया फेमिलिराइजेसन, कल्चरल एन्ड टुरिजम थ्रु मिडिया’ कार्यक्रम आयोजना गर्ने योजनाको निरन्तरता स्वरुप नेपालले कार्यक्रमको आयोजना गरेको बताइन् ।
नेपालका समेत पत्रकारहरु सहभागी टोलीले बुद्ध जन्मस्थल लुम्बिनी, बागमती प्रदेशको राजधानी हेटौंडा, जनकपुरस्थित प्रशिद्ध जानकी तथा काठमाडौं उपत्यकाका विभिन्न स्थानको भ्रमण गरेको उनले जानकारी दिइन् ।
टोलीले नेपाल पत्रकार महासंघका पदाधिकारीहरुलाई भेट्ने तय भएको छ भने राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटघाट गर्ने निश्चित भएको छ । चैत २५ देखि ३० गतेसम्म भएको भ्रमणमा ११ जना सहभागी छन् । सहभागीहरुले विभिन्न विषयमा आ–आफ्नो देशका सञ्चारमाध्यममा समाचार सामग्री सम्प्रेषण गर्नेछन् ।