काठमाडौं– बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिएका छन् ।
‘विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए,’ सूचना अधिकारी कर्णले भने ।
मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले जानकारी दिए । पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुँवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका थिए ।