खजुरा (बाँके)– जडीबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ महिनामा ७० करोड रुपैयाँभन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ ।

विभिन्न समस्या र अवरोधका बाबजुद चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ महिनामा ७० करोडको जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ । जडीबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माका अनुसार निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका कारण व्यवसायीले नौ महिनामा ७० करोडको जडीबुटी निकासी गर्न सफल भएका छन् ।

नेपाली जडीबुटीप्रति भारतको झन्झटिलो प्रक्रिया र नेपाल सरकारको अस्पष्ट नीतिका कारण जडीबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षदेखि पुनः उकालो लाग्ने संकेत देखिन थालेको अध्यक्ष शर्माले बताए ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट ७० करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको २८ लाख ५ हजार ८३९ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको हो । गत आव २०७९–८० को चैत मसान्तसम्म यो नाकाबाट ७० करोड ९६ लाख १० हजार रुपैयाँ मूल्यको जडीबुटी निकासी भएको थियो ।

कर्णाली प्रदेशलगायतका पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगन्ज प्रमुख ट्रान्जिट हो । नेपालगन्ज हुँदै भारतलगायत विभिन्न देशमा जडीबुटी निकासी हुँदै आएको छ । यो नाकाबाट टिमुर, रिठ्ठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ । औषधि, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बंगलादेश जस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको नेपाल जडीबुटी व्यवसायी संघले जनाएको छ ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिमुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीले विदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडिबुटी व्यवसायीले विगत केही वर्षदेखि विभिन्न झन्झट बेहोर्नुपरेकाले समस्या हुँदै आएको जडीबुटी व्यवसायी संघका अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय