काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बैंक नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारी निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएका भनिएका आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालको राजीनामा स्वीस्कृत गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी डा. नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेको जानकारी गराएकी छिन् ।

‘राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नुभएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डा. नेपालले १०० रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारी निर्णयको विरोध गरेको भन्दै उनको आलोचना भइरहेको थियो । डा. नेपालले भने आफूलेलाई पूर्वगभर्नर र अर्थशास्त्रीका हैसियतमा सोधेको प्रश्नको जवाफ दिने क्रममा व्यक्त गरेको विचारलाई गलत आशयले प्रचार भएको जिकिर गरेका छन् ।

‘मैले एउटा अर्थशास्त्री र एउटा विवेकशील नागरिकका नाताले कुनै विषयमा कूटनीतिक तहमा छलफल भइरहँदा देश र जनतालाई नै व्यवहारिक कठिनाइ उत्पन्न हुने काम हुन्छ कि भनेर सचेत गराउने मात्र मेरो आशय थियो, आफ्नो राष्ट्र, राष्ट्रियता र संविधानप्रति मेरो समर्पण मेरा लागि जीवनको सबैभन्दा मूल्यवान छ । यसमा कहिल्यै कुनै सम्झौता हुन सक्दैन,’ उनले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय