काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको मत पाएका हुन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । बैठकमा अन्य विपक्षी दलहरुले समेत आसनबाट उभिएर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा १ सय ५७, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा १ मत खसेको थियो । विश्वासको मत प्रक्रियामा १५८ सांसद सहभागी भएको सभामुख घिमिरेले जानकारी गराए ।

कांग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय