काठमाडौं– खोला र नदीहरुमा पानीको मात्रा बढेर देशभित्रका जलविद्युत् गृहहरुको उत्पादब बढेपछि भारततर्फ बिजुली निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचेको बिजुली गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको जनाएको छ ।

खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरु र निजी क्षेत्रको स्वामित्वमा रहेका जलविद्युत् आयोजनाहरुको उत्पादन बृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक ४ सय मेगावाट हाराहारीमा विद्युत् निर्यात भइरहेको बताए ।

‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रुपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि बृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि २ हजार मेगावाट पुगेको छ, विगत ७–८ वर्षअघि दैनिक रुपमा विद्युत् खपत एक/डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर चार/साढे चार करोड युनिट पुगेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने ।

हिउँदमा १५ अर्बको विद्युत आयात

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ । सुक्खायाम सुरु भएसँग खोला तथा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरुको उत्पादन घटेका बेला माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले गत वर्षको जेठदेखि यस वर्षको हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । चालू आर्थिक वर्ष २०८०–८१ को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको हो । यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको छ ।

आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएको भन्दा सस्तो छ । निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय