काठमाडौं– पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालसहित विश्वभर वायुप्रदुषण बढ्दै गएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका बाल, एलर्जी तथा दमरोग विशेषज्ञ डा. संजयराज थापाले बताएका छन् । वायुप्रदूषण र जलवायु परिवर्तनका कारण मौसम समेत राम्रो हुन सकेको छैन । धुवाँ, धुलो, वायुप्रदूषण, वंशाणुगत गुण, घरमा धूम्रपान, मोटोपना, कम तौल जन्मिनु आदि कारणले बालबालिकामा दमको समस्या अत्यधिक बढेको उनले बताए ।

उनका अनुसार ग्राण्डी अस्पताल पुग्ने १०० जना बिरामीमध्ये ५ देखि १० जना दमका हुने गरेका छन् । ‘बालबालिकामा मौसम परिवर्तन, चिसोका कारण, रूघाखोकी, भाइरल ज्वरो हुँदा, श्वासप्रश्वास नली साँघुरिँदा दमको समस्या हुने गरेको छ,’ डा. थापा भन्छन्, ‘श्वासप्रश्वास नली साँघुरिँदा खोकी बढी मात्रामा लाग्ने समेत हुन्छ । रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा बोल्दा पनि बढी खोकी लाग्ने, एन्टिबायोटिक खादाँ एक दुई हप्ता ठिक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने यस्तो भएमा दम भएको हुन सक्छ ।’ यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककहाँ लैजानुपर्ने उनले सुझाए ।

दमलाई औषधीले ठिक नगर्ने हुँदा ठिक समयमा दम भएको पत्ता लागेमा उपचार गर्न सकिने उनको भनाइ छ । ‘अन्यथा दम दीर्घरोग भएर जान सक्छ । दमबाट हुने समस्या कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ । इन्हेलर विभिन्न खालका हुन्छन् । जसलाई डाक्टरको सल्लाहबमोजिम प्रयोग गर्नुपर्ने हुन्छ,’ डा. थापा भन्छन्, ‘बच्चाहरूमा मुख्यतया दम एलर्जीबाट हुने हुँदा ठीकसँग औषधी लिएमा पछि गएर आफैं हराऊन सक्छ र लामो समय इन्हेलर लिइरहनु पर्ने आवश्यकता रहँदैन ।’

दमका बाहेक अस्पताल आउने अन्य बिरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका बढी हुन्छन् । रुघाखोकीका विरामी अत्याधिक रुपमा बढेको छ । बिरामी बच्चाहरु स्कुलमा पठाउँदा अन्य बच्चा समेत बिरामी हुने गरेको पाइन्छ । मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका विरामी अत्यधिक बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय