
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारीपत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रालिका बरिष्ठ महाप्रबन्धक अनुजकुमार गोयलले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारीअनुसार बैंकले त्रिवेणी मोटोकर्प प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारीसाधन खरिदका लागि सर्वसुलभ बयाजदरमा छिटो, छरितो र सहज कर्जा प्रवाह गर्नेछ ।
बैंकले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न विद्युतीय सवारीसाधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, बैंकले व्यक्तिगतरुपमा ‘अटो लोन’ तथा व्यावसायिक प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेकोे छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजना ल्याउने गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
ग्लोबल आइएमई बैंकले देशका सबै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको तथा ३५४ शाखा, ३७९ एटिएम, २७७ शाखारहित एकाइ र ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरमार्फत सेवा दिइरहेको छ । यसका ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत छन् ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।